PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

भौतिक संरचनाको गुणस्तर जाँच अब एक्सरे मेसिनबाट: अख्तियारको स्टिङ अप्रेसनमा २४१ पक्राउ



सविन ढकाल

भौतिक संरचनाको गुणस्तर जाँच अब एक्सरे मेसिनबाट: अख्तियारको स्टिङ अप्रेसनमा २४१ पक्राउ

काठमाडौं: गत मंसिरको पहिलो साता नयाँ बसपार्क प्रहरी प्रभागमा कार्यरत प्रहरी इन्स्पेक्टर हरिहर सुनुवारले घुस लिइरहेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  आयो। आयोगको टोलीसँग कुनै सबुत प्रमाण भने थिएन।

प्रहरी निरीक्षकले बसपार्कका होटेलसँग घुस लिने गरेको देखिएको थियो। त्यसपछि आयोगले सेवाग्राहीलाई पचास हजार रुपैयाँको बिटो दियो। घुस लिन पल्किएका प्रहरी सुनुवारले सोही सेवाग्राहीलाई फोन गरेर पैसा लिन पुगे।

अख्तियारको टोलीले चालेको स्टिङ अप्रेसन उनलाई पत्तै भएन। प्रहरी निरीक्षक घुस रकमसहित रंगेहात पक्राउ परे।

चालु आर्थिक वर्षको आठ महिनामा आयोगले स्टिङ अप्रेसन मार्फत २ सय ४१ जनालाई पक्राउ गरिसकेको छ। यसरी पक्राउ पर्नेहरुमा २ जना सहसचिव, ३ जना उपसचिव,  २७ जना नायव सुब्बा, १० जना प्राविधिक, ८ जना शाखा अधिकृतसहित पाँच प्रहरी लगायतका रहेका छन्। 

आठ महिनामा ९९ वटा मुद्दा विशेष अदालतमा दायर गरी १० अर्ब ४६ करोड बराबरको बिगो माग दाबी भएको आयोगका प्रवक्ता तथा सहसचिव दीर्घराज मैनालीले बताए। सहसचिव मैनालीले भने 'स्टिङ अप्रेसनबाट नियन्त्रणमा आउने क्रम बढेको हो।'

गतबर्ष मात्र आयोगको टोलीले ५४ वटा स्टिङ अप्रेसन गरेको थियो। 

अकुत सम्पत्ति आर्जनमामा ४ जना विरुद्ध मुद्दा

गैर कानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरी भष्ट्राचार गरेको अभियोगका आयोगले आठ महिनामा चार जना विरुद्ध मुद्दा दर्ता गराएको छ। उनीहरूसँग ११ करोड ९८ लाख बिगो माग दाबी समेत गरिएको छ। 

आन्तरिक राज्वस्व विभागका महानिर्देशक चुडामणी शर्मा, उच्च माध्यमिक शिक्षा परिषद्का सहसचिव देवीप्रसाद बाराकोटी, ठुला करदाता कार्यालयकका प्रमुख अधिकृत टीकाराम भुषाल र नेपाल विद्युत प्राधिकरणका उप कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठ विरुद्ध मुद्दा दर्ता भएको हो। आयोजगले अदालतमा मुद्दा दर्ता गराएपछि धेरैमा असफल हुँदै आएको छ। 

सहसचिव मौनालीले भने, 'अब आयोगले दर्ता गराएका मुद्दामा सफलता हात हासिल गर्ने प्रतिशत बढ्ने गरी प्राविधिक रूपमा काम गर्दै जानेछौं।'

भौतिक संरचनाको गुणस्तर एक्सरे मेसिनबाट

सडक,  भवन लगायतका निर्माण संरचनाको गुणस्तर जाँच गर्ने आयोगले अबदेखि एक्सरे मेसिन प्रयोग गर्ने भएको छ।

निर्माण भइसकेका विकास संरचना निर्धारित मापदण्डमा बनेका छन् कि छैनन् भने जाँच गर्ने आधुनिक परीक्षण विधिको प्रयोग गर्न लागिएको आयोगका प्रवक्ता तथा सहसचिव दीर्घराज मैनालीले बताए। सहसचिव मैनालीले भने' आयोगको अनुसन्धान थप प्रभावकारी र भरपर्दो बनाउन आफ्नै एक्सरे ल्याब सञ्चालनमा ल्याएका हौं।'  

निर्धारित मापदण्डमा नबनेका विकास संरचनाको गुणस्तर जाँच गर्ने आयोगले यसअघि परम्परागत शैली अपनाउँदै आएको थियो।' अब कुनै पनि भवनको पिल्लर वा वाल भत्काएर हेर्नु पर्दैन। एक्सेरे मेसिनले सजिलै हर्ने मिल्छ,' सहसचिव मैनालीले भने।

मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्रे गरी नसकिँदै उप्किएको र अनियमिता भएको भन्ने छानबिन गर्ने पनि एक्सरे मेसिन प्रयोग गरिएको छ।

आयोगले सिभिल इन्जिनियरिङ ल्याबसमेत स्थापना गरेको छ। आयोगले स्थानीय निकायमा हुन सक्ने भष्टाचारलाई नियन्त्रण गर्ने स्थानीय निकायका मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षसँग अन्तरक्रिया समेत गर्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell