काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले चाँडै ओस्कार अवार्ड जित्ने दाबी गरेका छन्। शुक्रवार नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको फान अवार्डमा बोल्दै प्रधानमन्त्री ओली नेपाल ओस्कार अवार्ड पाउन धेरै समय नलाग्ने बताएका हुन्।
'ओस्कार पाउन अब धेरै कुर्नुपर्ने देख्दिन। अहिलेसम्म नपाएको स्रोत साधनको कमीले हो,' उनले भने, 'संसारमा नेपाली जति राम्रा कोही छैनन् यो त हेन्डसम र ब्युटीफुलहरूको देश हो, पार्वती र उर्वसी र रामहरू यही भूमिका हुन्।'
उनले नेपाललार्इ चलचित्र सुटिङको लागि आकर्षक गन्तव्य बनाउने उनले दाबी गरे। प्रधानमन्त्री ओलीले भारतीय चलचित्रकर्मीहरूलार्इ नेपालमा फिल्म सुटिङका लागि नेपाल आउन आग्रह गर्ने समेत बताए।
'म २३ गते भारत जाँदै छु, त्यसै दिन भारतका कलाकारहरूसँग कुरा गर्छु,' उनले भने, 'यसअघि पनि मुम्बर्इमा भारतीय कलाकारहरूलार्इ नेपाल आउन आग्रह गरेको थिएँ, फेरी पनि आग्रह गर्छु।'
'उनीहरूले अझै बुझेका छैनन् क्या हो, उनीहरूलार्इ बुझाउँछु,' उनले भने 'ब्यकग्राउन्ड राम्रो नभए क्यामेराले के खिच्छ?'
प्रधानमन्त्री ओलीले नेपाल र भारतका कलाकारहरूबीच छलफल गराउने समेत उनले बताए। छलफलको मिति तय भइनसकेको समेत उनले बताए।
चलचित्रकर्मीलार्इ प्रधानमन्त्री ओलीले देशले माग जस्तो चलचित्र निर्माण गर्न समेत आग्रह गरे।
'अहिलेको सरकार बहुक्षेत्रको विकास चाहन्छ। फिल्म कस्तो बनाउनु हुन्छ? तपाईंहरु कहाँ एक भनाइ छ, कथाले मागेजस्तो,' उनले भने, 'म आग्रह गर्छु। देशले मागे अनुसार कथा र विषयमा फिल्म बनाउनुस यसको लागि सरकार तपाईँहरुको साथमा छ।'