काठमाडौं: उपचारका क्रममा निधन भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको शव आज राति ल्याइदैछ। शव बुझ्न प्रशासनिक प्रक्रिया पुरा गर्न समय लाग्ने भएकाले शव राति मात्र आइपुग्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
खड्काको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा हिजो निधन भएको हो। उनको शवलाई आइतबार अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ।
'दिवंगत नेता खड्काको शव आज राति आइपुग्छ। राति उहाँकै घरमा लगिनेछ र आइतबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा उहाँलाई श्रद्धाञ्जली अर्पणको कार्यक्रम रहेको छ,' प्रवक्ता शर्माले भने।
खड्कालाई फागुनको पहिलो हप्ता उपचारका लागि एपोलो अस्पताल लगिएको थियो। पूर्व गृहमन्त्रीसमेत रहेका उनको स्वास्थ्व अवस्था गम्भीर बन्दै गएपछि कांग्रेसले केन्द्रीयद्वय रमेश लेखक, शंकर भण्डारीलाई उनको स्वास्थ्व अवस्था जानकारी लिन दिल्ली पठाएको थियो।
खड्काको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।