PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

अनुदान लिएका २० हजारले अझै घर बनाएनन्



पहिलोपोस्ट

अनुदान लिएका २० हजारले अझै घर बनाएनन्
File Photo

नुवाकोटः विनाशकारी भूकम्पले क्षति पुगेको आवासमध्ये यहाँका दुई तिहाइ प्रभावितले घर निर्माण गरिरहेका छन्। घर बनाउन भनी पहिलो किस्ता लिएकामध्ये अझै २० हजार परिवारले घर बनाउन शुरु समेत गरेका छैनन्। 

जिल्ला आयोजना कार्यान्वय इकाइकाअनुसार प्रभावितमध्ये शुक्रबारसम्म ४४ हजार ४८५ परिवारले जग बसालेर घर निर्माण शुरु गरेका छन्। जिल्लाका ६९ हजार २८९ परिवार लाभग्राहीमध्ये सरकारी अनुदान प्रक्रियामा समावेश हुन प्राविधिक सहयोग लिएर घर निर्माण गर्ने लाभग्राहीको संख्या दुई तिहाइभन्दा बढी पुगेको इकाइ प्रमुख बिदुर खड्काले जानकारी दिए। 

खड्काका अनुसार ४१ हजार २२५ परिवारले घरको जग तहसम्म निर्माण गरी दोस्रो किस्ता अनुदान लिन निवेदन दिएका थिए। 

६४ हजार ५३ लाभग्राहीले भूकम्प प्रतिरोधात्मक आवास निर्माण गर्ने, सम्झौता गरी पहिलो किस्ताबापत रु ५० हजार अनुदान लिएका थिए। जस मध्ये अझै २० हजारले घर बनाउन सुरू समेत  गरेका छैनन्। 

पुनःनिर्माण प्राधिकरणले यही चैत मसान्तभित्र घरको जग तह निर्माण गर्नेलाई मात्र अनुदान उपलब्ध गराउने जनाएको छ। 'सरकारी निर्णयका आधारमा रु २० हजार परिवार अनुदान सुविधाबाट बञ्चित हुनसक्ने जोखिम छ,' उनले भने। 

आवास निर्माणका लागि निर्माण सामग्री सहज नहुनु, दक्ष कामदारको अभाव, प्राविधिक जानकारी पाउन भन्झटिलो व्यवस्था, बजार क्षेत्रमा सडकले दायाँबायाँ ओगट्ने क्षेत्र स्पष्ट नहुँदा निजी आवास निर्माणमा अपेक्षाभन्दा ढिला भएको पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले बताए। 

'एकचालीस हजार ७९४ परिवार दोस्रो किस्ता अनुदानका लागि सिफारिश भएका छन्,' गौडेलले भने, 'आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ताका लागि पाँच हजार ४०८ परिवार मात्रै योग्य देखिएका छन्।'

सरकारी तथ्यांक अनुदान कूल लाभग्राहीमध्ये तोकिएको मापदण्डअनुसार दोस्रो किस्ता पाउने लाभग्राही ६५.१६ प्रतिशत छ भने तेस्रो किस्ता पाउने ८.४३ प्रतिशत मात्र छ। निर्माण सम्पन्न भएका १२ हजार ६५२ घरले तोकिएको मापदण्ड पूरा नगर्दा अनुदान सिफारिश रोकिएको इकाइले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell