PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

सडकमा फोहोर फाल्ने र चौपाया छोड्नेलाई वीरगंज महानगरले सुरू गर्‍यो कारबाही



राधेश्याम पटेल

सडकमा फोहोर फाल्ने र चौपाया छोड्नेलाई वीरगंज महानगरले सुरू गर्‍यो कारबाही

वीरगंजः वीरगंज महानगरपालिकाले नगर क्षेत्र भित्र अव्यवस्थित तरिकाले फोहर फ्याक्ने व्यक्ति माथि कारबाही सुरु गरेको छ। वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीको निर्देशनमा महानगरपालिका कार्यालय र ग्रिन सिटीले संयुक्त रूपमा नगरका विभिन्न क्षेत्रहरूमा छड्के अनुगमन गरी अव्यवस्थित तरिकाले सडकमा फोहर फ्याक्ने व्यक्ति माथि कारबाही सुरु गरेको हो। 

नगर क्षेत्रमा फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन महानगरपालिकाका सरसफाइ महाशाखाका अधिकृत राजकृष्ण ताम्राकारको नेतृत्वमा खटेको टोलीले विगत दुई दिन देखि नगरका विभिन्न स्थानहरूमा फोहर फ्याक्ने व्यक्तिहरूलाई आफै पक्राउ गरी प्रहरीमा बुझाउँदै आएको छ। 

महानगरबाट खटिएको टोलीले बुधवार वीरगंजको अलखियामठबाट सडक छेउमा फोहर फ्याक्ने क्रममा दुई व्यक्तिलाई पक्राउ गरी वडा प्रहरी कार्यालय बिर्तामा बुझाएको अधिकृत ताम्राकारले जानकारी दिए। 

‘महानगरपालिका कार्यालयले फोहर व्यवस्थापनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरे पनि फोहर व्यवस्थापन नहुन सके पछि हामीले छड्के अनुगमन सुरु गरेका हौँ,’ अधिकृति ताम्राकारले भने, ‘महानगरपालिका कार्यालयबाट सधैँ विभिन्न समयमा ३ पटक फोहर उठाउने गाडी साइरन बजाउँदै नगर परिक्रमा गर्छ तर पनि गाडीमा फोहर नफ्याँकेर सडक छेउमा फोहर फ्याक्ने गरेका छन्, त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्न र कानुनको दायरामा ल्याउन हामीले यो छड्के अनुगमन थालेका हौँ।’ 

फोहर–मैला व्यवस्थापन ऐन २०६८ अनुसार तोकिएको स्थान बाहेक अन्य स्थानहरूमा फोहर फ्याँके कानुन बमोजिम पाँच हजार देखि एक लाख रुपैयाँ बराबरको जरिवाना र तिन महिना कैदको व्यवस्था रहेको ताम्राकारले बताए।

छाडा चौपाया नियन्त्रण सुरु

वीरगंज महानगरपालिका कार्यालयले नगरभित्र अनियन्त्रित छोडिएका छाडा चौपाया नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आज वीरगंजको विभिन्न स्थानहरूबाट छाडा चौपायाहरू नियन्त्रण गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ। सुरक्षित सडक सवारी सञ्चालनका लागि विशेष अभियान चलाई नगरभित्र छाडा छोडिएका चौपाया नगर प्रहरीहरूद्वारा नियन्त्रणमा लिने अभियानलाई महानगरपालिकाले निरन्तरता दिएको हो। 

महानगरपालिकाबाट खटिएका नगर प्रहरीहरूले आज वीरगंजका विभिन्न स्थानहरूबाट लगभग आधा दर्जन छाडा छोडिएका चौपायाहरू नियन्त्रणमा लिएको छ। महानगरभित्र गाई, भैँसी, गोरु, बाख्रा, सुँगुर, साँढे जस्ता पशुहरू छाडा छोड्दा सवारीसाधन सञ्चालनमा बाधा उत्पन्न भई सडक जाम हुने समस्या बढे पछि महानगरपालिकाले पुनस् छाडा चौपाया नियन्त्रण गर्ने काम सुरु गरेको महानगरपालिकाका वरिष्ठ अधिकृति सुमन श्रेष्ठले जानकारी दिए। 

नगर क्षेत्र यसरी छाडा छोडिएका चौपायाहरू नियन्त्रणमा लिएका गाई, भैँसी, साँढे, गोरीको बापत रु ५०००, बाच्छा, बाख्रा बापत रु ३००० जरिवाना लिई छाड्ने गरेको महानगरपालिका कार्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell