काठमाडौं: प्रधानमन्त्री केपी शार्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्ना नाममा वारेन्ट जारी गरेकोप्रति आक्रोश व्यक्त गर्दै मजाक नगर्न चेतावनी दिएका छन्।
राष्ट्रिय सभागृहमा रिपोर्टर्स् क्लब नेपालको २० औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै ओलीले भने, 'यो विप्लप कि के समूह भन्ने छ नि, केपी ओलीलाई वारेन्ट जारी गर्ने? मजाक गर्ने? मजाक गर्ने हो भने हरिवंश र मदनकृष्णलाई पनि सिफारिस गरिदिन्छु । प्रहसन गर्ने भए धुर्मुस सुन्तलीलाई पनि भनिदिउँला।'
ओलीले यस्ता राजनीतिक मजाक नगर्न विप्लवलाई चेतावनी दिए।
'प्रचण्डलाई समेत वारेन्ट, कुन्नी कुन गाउँमा चाहिँ आउनु। सातदिनभित्र हाजिर हुन। यसप्रकारका राजनीतिक मजाकहरु नगर्न म विप्लवलाई आग्रह गर्छु । अलि बढ्ता भयो,' प्रधानमन्त्री ओलीले भने।
स–साना समूहले च्याँखे थापेको भन्दै ओलीले माओवादी युद्धलाई खालको संज्ञा दिँदै खाल उठिसकेपछि च्याँखे थापेर केही नुहने बताए।
‘जुवाडेका खालमा कसैकसैले च्याँखे थापिरहेका छन्, कसैले जनयुद्ध भनेका छन्। कसैले के भनेका छन्,’ उनले अगाडि भने, ‘माओवादीको खाल उठिसकेको छ, त्यस्ता च्याँखे थाप्नेलाई म भन्छु अब यस्तो खेलमा नलाग्नुस।’
ओलीले विप्लवले थोत्रा किताब पढेर सिद्धान्तको कुरा गरेको आरोप लगाएका छन्। चन्दा उठाउने र सुतली बम पड्काउने काम कुनै पनि सिद्धान्तमा नभएको भन्दै विप्लवको कटाक्ष गरेका हुन्।
'थोत्रा किताब पढेर कोही क्रान्तिकारी पल्टिएका छन्। सुतली बम सिद्धान्त हुन्छ? मार्क्सवादमा कहाँ लेखेको छ। नचाहिने कुराका पछाडि दौडिएको छन् मान्छे। चन्दा उठाउनका लागि सिद्धान्तका कुरा नगर्नुस्,' ओलीले भने।
उनले विकास र समृद्धिको लागि अहिले अनुकुल वातावरण बनेको बताए। विकासका कार्यमा बाधा र भ्रष्टाचार नसहने समेत उनको भनाई थियो। ‘मैले धेरै ठाउँ भनेको पनि छु म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गरे सहन्न, गर्न दिन्न पनि,’ उनले भने।
अर्थतन्त्र नाजुक भए पनि उनले कसैलाई भोकै मर्न नदिने उनले बताए। ‘हामीले हिजो श्वेतपत्र जारी गर्यौँ। त्यसमा हाम्रो अर्थतन्त्र नाजुक छ भनेका छौँ,’ उनले भने, ‘त्यही पनि मैले केही प्रतिवद्धता गरेको छु, अब कोही भोकले मर्दैन्, कोही जाडोले मर्दैन्। सरकार यसमा प्रतिवद्ध छ।’
‘अब तिनीहरुको सरकार आएको छ, यति भन्दा कसैको मन भतभति पोल्यो होला, आउने नै भयो अधिनायकवाद, यो अधिनायकवादको लक्षण हो,’ उनले व्यंग्य गर्दै भने।