PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बालिका अपहरण गरेर भागेका 'अपहरणकारी'को भिरबाट लडेर मृत्यु



पहिलोपोस्ट

बालिका अपहरण गरेर भागेका 'अपहरणकारी'को भिरबाट लडेर मृत्यु

फलेवासः पर्वतको कुस्माबजारमा शनिबार दिउँसो एक अढाइ वर्षीया बालिकालाई अपहरण गरेर भाग्दै गर्दा भिरबाट लडेर ‘अपहरणकारी’को मृत्यु भएको छ।

बालिका अपहरण गरेर भाग्दै गर्दा स्थानीयवासीले देखेपछि भागेका बागलुङ नगरपालिका वडा नं १, रामरेखाका ३६ वर्षीय भूपेन्द्र रुचालको मृत्यु भएको हो।

रुचालको कुस्मा नगरपालिका वडा नं ५ चाक्लेडिलको भिरबाट खसेर मृत्यु भएको हो। कुश्मा नगरपालिका–४ चाक्लेडिल नजिकै बस्दै आएकी निशा परियारकी साढे दुई वर्षीया छोरी सुवानी परियारलाई नजिकै खोल्सामा मुख थुनेर राखेको र बच्चा रोइरहेको स्थानीयवासी चिरञ्जीवी केसीले देखेका थिए। केसीले सोधखोज गर्न थालेपछि मृतक रुचाल भाग्न खोज्दा भिरबाट खसेका थिए।

बालिका छाडेर भाग्ने क्रममा भिरबाट खसेका ती युवा भिरबाट २०० मिटर तल पुगेका थिए। भिरबाट उद्धार गरी पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पर्वतका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए।

भिर र वरपर खोजी गर्दा करीब एक घण्टापछि चाक्लेडिल भिरको करीब २०० मिटर तल फेला परेका थिए। शव परीक्षणका लागि प्रहरीले जिल्ला अस्पताल पर्वतमा राखिएको छ।

प्रत्यक्षदर्शी केसीले भने ‘म घाँस काट्न बाटोमा हिँड्दै थिएँ। तल खोल्साबाट बच्चा रोएको सुनेँ। यसो हेरेको त तल कसैले नदेख्ने भड्खालोमा लगेर त्यो मान्छेले बच्चाको मुख थुनिरहेको थियो। बच्चा रोइरहेकाले मैले छेउमा निस्केर हेर्दा उसले मलाई देख्यो म तल ओर्लेर बच्चा ल्याएँ, ऊ त्यहीँबाट यताउता भाग्न खोज्दै थियो, त्यसपछि देखिएन।’ रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell