PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

'भारतीय अपराधीको सेल्टर बन्यो पर्साको पटनी, भैँसी व्यापारी बनेर पुगेका प्रहरीमाथि यसरी भयो आक्रमण'



राधेश्याम पटेल

'भारतीय अपराधीको सेल्टर बन्यो पर्साको पटनी, भैँसी व्यापारी बनेर पुगेका प्रहरीमाथि यसरी भयो आक्रमण'

वीरगंजः पर्सा प्रहरीमाथि शुक्रबार साँझ बहुदरमाई नगरपालिका–५ मा आक्रमण भएको छ। मुख्य आक्रमणकारी फरार छन्। 

अभियुक्त समातेका प्रहरीलाई स्थानीयले लाठी र ढुङ्गाले आक्रमण गरी अपराधी मात्रै छुटाएनन्, नियन्त्रणमा परिसकेका स्थानीय लम्बु यादवलाई भगाउन पनि सफल भए।

स्थानीयको आक्रमणमा परी पर्सा प्रहरीका सञ्जयकुमार जयसवाल, अनिल यादव, राकेशकुमार यादव, नवीन पौडेल र ऋतुराम सोनार घाइते भएका छन्। पर्सा प्रहरीले घटनामा स्थानीयको आक्रमणबाट प्रहरी घाइते भएको पुष्टि गरेको छ। घाइते सुरक्षाकर्मीको ठेगाना र दर्जा खुलाइएको छैन। उनीहरू नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरेर फर्किसकेको प्रहरीले जनाएको छ। 

पर्सा प्रहरीका प्रवक्ता राजन लिम्बुले लागूऔषधका अभियुक्तलाई पक्राउ गर्न जाँदा ठूलो सङ्ख्यामा स्थानीय महिला, पुरुषले आक्रमण गरी प्रहरीलाई घाइते बनाएको बताए। प्रहरी कालिकामाई –१ मा लागूऔषधका फरार अभियुक्तलाई पक्राउका लागि गएको दाबी गरेको छ। प्रहरी स्थानीय लम्बु यादवलाई पक्राउको योजना बनाएर पटनी पुगेको थियो। 


को हुन् लम्बु यादव

पर्साको पटनी अहिले भारतीय कुख्यात अपराधी बस्ने टोलमा चर्चा कमाउँदै छ। स्थानीयका अनुसार १२ वर्षअघि भारतमा हत्या, अपहरण मुद्दामा संलग्न लम्बु यादव भनिने व्यक्ति पहिलोपटक पटनी आएका थिए। 

यादवले २०६३ सालको नागरिकता टोलीबाट तत्कालीन डोकैला बहुअरी गाविसबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। नेपाली नागरिकता लिएपछि लम्बुले स्थानीय जगराउत अहिरको जग्गा खरिद गरी घर बनाएर बसोबास गर्न थालेका हुन्। 

जगराउत अहिर र लम्बुबीच पारिवारिक सम्बन्ध भएको बताइन्छ। लम्बुले नागरिकता लिएर घरजम गरेपछि उनले भारतबाट आफ्ना साथीहरू बैद्यनाथ यादव र हिरालाल यादवलाई पटनी बस्न बोलाए। यी दुबै भारतीय नागरिक हुन्।

लम्बु, वैद्यनाथ, हीरालाल भारत, उत्तर प्रदेश, गोरखपुरनजिक पनिअहवा आसपासका बासिन्दा हुन्। वैद्यनाथले बसोबास गर्न थालेपछि उनले आफ्नो छोराको विवाह डोकैला बहुअरी एवं छोरीको विवाह पटनीकै भगवान यादवका छोरासँग गराएका छन्।

नेपाली बुहारी पाएपछि उनकै नागरिकताको आधारमा जमिन जोडेका पनि छन्। यस विषयमा बहुदरमाई नगरपालिका–५ का वडाध्यक्ष रामेश्वर साहले पटनीमा केही भारतीय अपराधी बस्न थालेको र तिनलाई प्रहरीले समात्न जाँदा प्रहरी र स्थानीयबीच झडप भएको फोन सम्पर्कमा बताए। घटनाबारे अन्य विस्तृत विवरण थाहा नभएको वडाध्यक्ष साहले बताए।

पटनीमा २० दिनअघि एक भारतीय बालकलाई अपहरण गरेको घटनामा पनि  यादवको नाम जोडिएको थियो। 


भैँसी व्यापारी बनेर पुगेको थियो प्रहरी

प्रहरी लम्बुलाई प्रकाउका लागि भैँसी व्यापारी बनेर पुगेका थिए। सादा पोसाकमा भारतीय नम्बर प्लेटको स्कोर्पियोमा प्रहरी साँझ ५ बजे पटनी पुगेका थियो। 

लम्बुले व्यापारी सम्झेर पानी पनि खुवाए। तर प्रहरीले लम्बुलाई नियन्त्रणमा लिएर गाडीमा राखेपछि उनका परिवार र छिमेकका बैद्यनाथ र हिरालाल तथा परिवारका सदस्यले ढुङ्गामुढा एवं लाठीचार्ज गरी गाडीबाट लम्बुलाई भगाएका थिए।

प्रहरीले कुनै जवाफी कारबाही नगरी स्थानीय महुवन र पोखरीया प्रहरीको मदत मागेर त्यहाँबाट निस्किएको थियो। थप प्रहरी टोलीले उनीहरूको उद्धार गरेको थियो।


कमजोर सूचना संकलन

कमजोर सूचना सञ्जाल र घुमुवा प्रहरीको लापरबाहीले प्रहरीमाथि आक्रमण भएको सुरक्षा स्रोतहरूमा विश्लेषण भएको छ। घुमुवालाई पटनीको बारेमा अवगत भए पनि त्यसबारे स्पष्ट रणनीति नबनाउँदा प्रहरीमाथि आक्रमण भई अपराधी छुटेको सुरक्षा संयन्त्रको विश्लेषण छ।

भारतमा अपराध गर्ने र पर्साको पटनीमा त्यसको छिनोफानो हुने घटना घुमुवाहरूबाट लुकेका छैनन्। तर प्रहरी संलग्नाबिना पटनीमा आपराधिक घटना फस्टाउन नसक्ने केही स्थानीयको आरोप छ।े

मुख्य आक्रमणकारी फरार रहे पनि प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुर्योधन महतो, सीताराम कुशवाह र मुन्नीलाल कुशवाहलाई नियन्त्रणमा लिएको छ। प्रहरीकै कमजोरीका कारण घटना भएपछि पर्सा प्रहरीले घटनाबारे कुनै पनि जानकारी बाहिर ल्याएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell