लुइस सुवारेज र वैकल्पिक खेलाडी लियोनल मेसीले खेल सकिन दुई मिनेटमा अगाडि एक-एक गोल गरेपछि बार्सिलोना ला लिगामा हारबाट जोगिएको छ। लिग अन्तर्गत शनिबार भएको खेलमा लिग लिडर बार्सिलोनाले सेभियासँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
फ्रान्को भजक्वेजले ३६औँ तथा लुइस मुरिएलले ५०औँ मिनेटमा गोल गर्दै सेभियालाई घरेलु मैदानमा २-० को अग्रता दिलाएका थिए। सेभियाले उक्त अग्रता ८८ मिनेटसम्म कायम राखेको थियो। तर बार्सिलोनालाई खेलमा पुनरागमन गराउन सुवारेज र मेसी निर्णायक बने। सुवारेजले ८८औँ मिनेटमा बाइसाइकल किकमार्फत गोल गर्दै गोलअन्तर कम गरे। त्यस लगत्तै मेसीले फिलिप काउटिन्होको पासमा गोल गरेपछि बार्सा अकं खोस्न सफल भयो।
मेसी ५८औँ मिनेटमा ओसमान डेम्बेलेको स्थानमा मैदान प्रवेश गरेका थिए।
बराबरीपछि ३० खेलबाट ७६ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा यथावत छ। एक खेल कम खेलेको एट्लेटिको ६४ अंकका साथ दोस्रोमा छ। ३० खेलबाट ४६ अंक रहेको सेभिया छैटौँ स्थानमा छ।
लिगकै अर्को खेलमा रियल मड्रिडले लस पलमसलाई ३-० ले पराजित गरेको छ। रियलका लागि गारेथ बेलले २६औँ र ५१औँ मिनेटमा गोल गरे भने बरिम बेन्जामाले ३९औँ मिनेटमा गोल गरे।
जितपछि ३० खेलबाट ६३ अंक जोडेको रियल तेस्रो स्थानमा यथावत छ र दोस्रो स्थानको एट्लेटिकोसँग अंक दूरी १ मा झारेको छ।