इलामः इलामको माईजोगमाई गाउँपालिकाको आधा क्षेत्र डेढ महिनादेखि अन्धकार बनेको छ।
विद्युत् अवरोध भएको डेढ महिना बितिसक्दासमेत मर्मत नहुँदा स्थानीयवासी अन्धकारमा रात बिताउन बाध्य भएका छन्। विद्युत् नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको छ। त्यस क्षेत्रमा गाडिएका काठका पोल सडक निर्माणका क्रममा ढलेपछि गाउँपालिका–२, ४, ५ र ६ का करिब २५० घरधुरी बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका हुन्। त्यहाँका काठका पोल जीर्ण भएकाले सडक निर्माणका क्रममा ढलेको वडासचिव गोविन्द भट्टराईले जानकारी दिए।
उनका अनुसार सडक निर्माण गर्ने क्रममा गाउँपालिकाका शनिश्चरेदेखि गोर्खेढापसम्मका छ वटा पोल ढलेका थिए। त्यस ठाउँमा नयाँ पोल प्रतिस्थापनमा ढिलाइ भएकाले अन्धकार भएको उनको भनाइ छ। त्यहाँ १५ वटा नयाँ पोल फेर्नुपर्ने भएकाले ढिलाइ भएको बताइएको छ।
साथै त्यस क्षेत्रमा नयाँ ट्रान्समिटर जडान गर्नुपर्नेसमेत भएकाले विद्युत् सञ्चालन हुन अझ केही दिन लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरण उपशाखा कार्यालय पशुपतिनगरका विनोद मास्केले जानकारी दिए। रासस