प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा म्यानचेष्टर सिटीले एभरटनलाई ३-१ ले पराजित गर्दै उपाधि नजिक पुर्याएको छ।
लिगमा ३१ खेल सकिदा लिग लिडर सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि १३ अंकको अग्रता कायम गरेको छ। अब ७ खेल खेल्न बाँकी छ र सिटीलाई उपाधि जित्न एक जित मात्र आवश्यक छ।
स्पष्ट छ म्यानचेष्टर सिटीले आगामी शनिवार म्यानेचष्टर युनाइटेडलाई हराउन सके ६ खेल बाँकी छँदै प्रिमियर लिगको उपाधि जित्नेछ। बराबरी र हारले भने सिटीले उपाधिका लागि कुर्नुपर्नेछ।
सिटीलाई जित दिलाउन लरे साने, गाब्रिएल जेसस र रहिम स्टर्लिङले गोल गरे। एभरटनका लागि यानिक बोलासिले एक गोल फर्काए।
उता रोमेलु लुकाकुले प्रिमियरलिगमा १०० गोलको कोसेढुंगा पुरा गर्दा म्यानचेष्टर युनाइटेडले स्वन्सी सिटीलाई २-० ले पराजित गरेको छ। घरेलु मैदानमा युनाइटेडका लागि लुकाकुले पाँचौ तथा एलेक्स सान्चेजले २०औँ मिनेटमा गोल गरे।
जितपछि ३१ खेलबाट ६८ अंकका साथ युनाइटेड दोस्रो स्थानमा छ।
अरक् खेलमा तेस्रो स्थानको लिभरपुलले पुनरागमन गर्दै क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको छ। लिभरपुलका लागि साडियो माने र मोहमद सलाहले एक-एक गोल गरे।
त्यसअघि घरेलु मैदान लुका मिलिभोजेऐकले पेनाल्टीमा गोल गर्दै क्रिस्टल प्यालेसलाई पहिले अग्रता दिलाएपनि त्यसलाई कायम राख्न सकेन।