काठमाडौं : धुर्मुस सुन्तली फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउनका लागि निर्माणस्थलको खोजी कार्य तिव्र बनाएको छ। फाउण्डेसनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा अवलोकन गरेको छ।
क्रिकेटप्रेमीहरुको सहयोग प्रतिबद्धता र नेपाल सरकारको पनि सकारात्मक पहलकदमीका कारण आफुहरुलाई थप उत्साह मिलेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण स्थल छनोटको काम सुरु गरिएको भन्दै उपयुक्त स्थान रहेको खण्डमा फाउण्डेसनलाई जानकारी गराउन समेत आग्रह गरेका छन्।
यस्तै, जग्गा अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रिय क्रिकेट मैदान देशको लागि अपरिहार्य रहेको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उपयुक्त जग्गा छनोट गरेर जतिसक्दो छिटो क्रिकेट मैदान निर्माण गर्नुपर्नेमा उनको जोड छ।