काठमाडौं: शिवपूरी–नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको मध्यवर्ती क्षेत्र अवस्थित डाँडागाउँका जनताले रक्षामन्त्री ईश्वर पोखरेललाई निकुञ्जबाट निस्किने जनावरबाट जोखिम बढेको गुनासो गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न डाँडागाउँ पुगेका रक्षामन्त्री पोखरेलसँग स्थानीयले यस्तो गुनासो राखेका छन्।
डाँडागाउँका अधिकांस स्थानीयले निकुञ्जबाट निस्कने जंगली जनावरले कृषि उत्पादनलाई नष्ट गर्ने, विगार्ने गरेको गुनासो मन्त्री पोखरेलसँग गरेका थिए। स्थानीय बालविकास स्कुलका प्राचार्य दोर्जे तामाङले निकुञ्ज क्षेत्र आसपासमा जंगली जनावरले खाद्य बाली नष्ट गरेको भन्दैं स्थानीय जनता मर्कामा परेको बताए।
मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष स्थानीय दावा लामाले जंगली जनावरबाट खाद्यबालीमा हुने क्षतिबाट जोगाउने काममा स्थायी समाधान नखोजी सरकारले राहत बाँड्ने काममात्रै गरेको बताए।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले अब छिट्टै निकुञ्जको १२९ किलोमिटरमा रहेको पर्खाललाई व्यवस्थित गरी जंगली जनावर जनताको खेतबारी जान नसक्ने स्थिती बनाउन लागिएको बताए।
त्यस्तै नेपाली सेनाले डाँडागाउँ जानलाई नेपाली सेनाको स्टाफ कलेजको प्रांगणबाट जानुपर्ने हुँदा त्यस्ले सुरक्षा चुनौती थपिएको र त्यसले स्थानीयवासीलाई हिंडडुल गर्न गाह्रो भएकाले बैकल्पिक मार्गको प्रस्ताव गरेका थिए।
स्थानीयका गुनासा र सरोकारवालाहरुको सुझाव लिएपछि रक्षामन्त्री पोखरेलले निकुञ्ज क्षेत्रको संरक्षणमा आफु प्रतिवद्ध रहेको बताए। उनले स्थानीयका समस्या समाधानको लागि आफु प्रयत्नरत रहेको भन्दै आश्वस्त पारे।
उनले आशिंक स्वार्थभन्दा सम्पूर्ण स्वार्थ माथि हुने भन्दै कानुनमा केही कमजोरी भए सुधार गर्दै लैजाने तर निकुञ्ज संरक्षणको नियमलाई पालना गरेर अघि बढ्ने बताए। मध्यवर्ती क्षेत्रका समस्या समाधानका निम्ती स्थानीय निकाय, सामाजिक संघ संस्था एवंम सरकारी पक्षविच बसेर थप छलफल गर्ने बताए।
अहिले निकुञ्ज आसपासमा मन्दिर, क्लव र गुम्वा बनाउने बाहनामा जग्गा हड्प्ने प्रवृत्ति बढेको उल्लेख गर्दै मन्त्री पोखरेलले यस नाममा अतिक्रमण गर्ने प्रवृत्तिको विरोध गरे। ‘केहीले अहिले सार्वजनिक जमिनमा मन्दिर, क्लब र गुम्बा बनाएर अतिक्रमण गर्ने बडो कलात्मक सीप र शैली सिकेका छन्, त्यस्तो कुरा सहन गर्न सकिन्न’–मन्त्री पोखरेलले भने।