दैलेखः तत्कालीन द्वन्द्वका बेला नेपाली सेनाले पक्राउ गरी हत्यासँगै शव बेपत्ता पारिएका महावु गाउँपालिका– ६ का ऐनबहादुर शाहीको शव आफन्तले १४ वर्षपछि उत्खनन गरेका छन्।
नेपाली सेनाले माओवादीका नाममा हत्या गरेका र शव बेपत्ता पारिएका परिवार धमाधम शव खोज्न थालेका हुन्। विसं २०६० साउन १७ गते धरमपोखरामा ऐनबहादुरसहित १२ जनालाई सेनाले पक्राउ गरेको थियो। अन्यलाई छाडिदिएको भए पनि शाहीलाई चरम यातना दिएर हत्या गरिएको थियो। सेनाले उनको शव धरमपोखरा जंगलमा गाडेको थियो।
ऐनबहादुरका तीन छोराहरू गाउँमा बस्न नसक्ने अवस्था भएपछि द्वन्द्वकै क्रममा विदेशिएका थिए। घर छाडेका तीन भाइमध्ये दुई जना विदेशबाट घर आएपछि पिताको शव उत्खनन गरिएको हो।
शनिवार नै उनको शिरिस्थानमा औपचारिक दाहसंस्कार गरिएको छ। शव उत्खननमा पुगेका आफन्तलाई तत्कालीन घटना सुनाउँदै प्रत्यक्षदर्शी अमृता बिसीले भने, 'घर नजिकको घटना हो, त्यति बेला निकै धेरै यातना दिइएको थियो, हात भाँच्ने, आँखा फुटाउनेसम्मका काम गरेर निकै क्रूर तरिकाले हत्या गरिएको थियो। त्यस्तो दिन कसैलाई नआओस् भन्दै हामी घरभित्र लुक्यौँ।'
माओवादीकै आरोपमा बुबालाई तत्कालीन सेनाले हत्या गरेको, अहिलेसम्म माओवादी नेता घरमा भेट्नसम्म नपुगेको उनका छोराले दुखेसो पोखे।
बुबाको मृत्युपछि घरपरिवारको अवस्था झनै नाजुक बनेको मृतक ऐनबहादुरका माहिला छोरा बृखबहादुरले गुनासो गरे।
दैलेख द्वन्द्वका बेला जिल्लामा २७० मानिस राज्यपक्षबाट मारिएको माओवादीले दाबी गर्दै आएको छ। माओवादी पक्षबाट भने सोही हाराहारीमा मारिएको अनुमान छ। रासस