PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

गौशालामा चलेको गोली 'गुन्डा नाइके' गणेश लामाकै पेस्तोलको भएको पुष्टि



सविन ढकाल

गौशालामा चलेको गोली 'गुन्डा नाइके' गणेश लामाकै पेस्तोलको भएको पुष्टि

काठमाडौं: गुन्डा नाइके गणेश लामाको साथबाट बरामद पेस्तोल र होटेलमा भेटिएको गोलीको खोका म्याच भएको छ। 

फागुन ३० गते प्रहरीले गौशालास्थित पशुपति भिजनबाट लामालाई पक्राउ गर्दै उनको साथबाट पेस्तोलसहित ६ राउण्ड गोली समेत बरामद गरेको थियो।

गोली चलेको आवाज सुनेपछि प्रहरी पुगेर हेर्दा लामाको हातबाट पेस्तोल बरामद गरेको प्रहरीको दाबी गरेको थियो। लामाको हातमा रहेको चाइनिज पेस्तोल र होटेलमा भेटिएको खोका सोही पेस्तोलको भएको ल्याब परीक्षणमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए। 

एसएसपी पोखरेलले भने, 'लामाको साथबाट बरामद पेस्तोल र गोलीको खोका एउटै भएको देखियो। यसमा कुनै दुईमत छैन।'

१८ दिनदेखि परिसर टेकुमा रहेको हिरासतमा रहेका लामा भने आफ्नो पेस्तोल नभएको बताउदै आएका छन्। लामाले आफुलाई गोली हान्न आएका युवाबाट पेस्तोल खोसेको बयान प्रहरीलाई दिएका छन्।

लामाको साथबाट प्रहरीले बरामद् गरेको पेस्तोल द्वन्द्वकालमा प्रयोग भएको हुनसक्ने प्रहरीको दाबी छ। पेस्तोलको नम्बर मेटिएको छ।

विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा पार्टी कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए। काभ्रेको क्षेत्र नम्बर १ को प्रदेशसभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए। लामालाई छुटाउन अहिले कांग्रेस नेताहरुको दबाब आइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

अकूत सम्पत्ति कमाएको अभियोगमा केही समय जेलमा रहेका लामा संविधानसभामा उम्मेद्वारी दिएको भोलिपल्टै ३ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए। मुद्दा विशेष अदालतमा अझै जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell