PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

फोरम सांसद उमाशंकरको दाबी: कम्युनिष्टको शब्दकोषमै संघीयता छैन, यो संघीयता टिक्दैन



बीपी साह

फोरम सांसद उमाशंकरको दाबी: कम्युनिष्टको शब्दकोषमै संघीयता छैन, यो संघीयता टिक्दैन

काठमाडौं: धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित उमाशंकर अरगडिया ‘माननीय’ भएर पहिलोपटक संसदमा आइपुगेका छन्।
संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित अरगडिया नेपाली कांग्रेसका रामकृष्ण यादव र वाम गठबन्धनका रामचन्द्र झालाई पराजित गर्दै निर्वाचित भएका हुन्।

मधेशी जनअधिकार फोरमसँगै पहिलो मधेश आन्दोलनबाट सक्रिय राजनीतिमा आएका अरगडिया निर्वाचन अघिसम्म विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा थिए।

गच्छदार कांग्रेसमा प्रवेश गरेपछि अरगडिया आफ्नो पुरानै घर फर्केर निर्वाचनमा लडेका थिए। सांसद अरगडियाले संविधान र संघीयताबारेको दृष्टिकोण:

संघीयता समाप्त पार्न संविधान

हामी संघीयताका लागि लडेका कार्यकर्ता हौं। तर, अहिलेको अवस्था देखेर मलाई संघीयता टिक्ला जस्तो लाग्दैन। यो संघीयता पनि टिकाउनका लागि दिइएको होइन। 

ठूला पार्टीले संघीयता बाध्यतापूर्वक स्वीकार गरेका हुन्। उनीहरुले संघीयतालाई टिक्न दिनेछैन। संघीयता टिकाउने जिम्मेवारी हाम्रो काँधमा छ।

कम्युनिष्टहरुको शब्दकोषमा संघीयता छैन। संघीयतालाई समाप्त गर्ने गरी संविधान बनाइएको छ। यो संविधान यसै गरी लागु हुदैं जाने हो भने संघीयता र संविधान दुबै धरापमा पर्नेछ।

संघीय सरकारलाई कुनै अधिकार दिएको छैन। त्यसैले केन्द्रीय सरकारले केही दिनमै संघहरुलाई समाप्त पार्न सक्छ। 

फोरम सरकारमा जाँदैन

हामी सरकारमा जाने कुरा लगभग अन्त्य भयो। हामीले खोजेको सहमति सरकारले गर्न चाहेको छैन। सरकारले हामीलाई धोका दिएको जस्तै छ। 

हामीले विश्वासका आधारमा सरकारलाई समर्थन गरेका छौं तर सरकारले विश्वासको वातावरण विगारेको छ। हामीले लिखित सहमति खोजेका थियौं। तर सरकार लिखित सहमतिबाट पछि हटेको छ। हामी सरकारमा सहभागी हुन आतुर पनि छैनौं । बाहिरबाट पनि काम गर्दैछौं।

मन्त्रालयको भागबण्डाको कुरा नै छैन । सरकारले मन्त्रालय त दिएकै हो तर हाम्रो लिखित सहमति नभएपछि हामी गएका होइनौं ।
हाम्रो माग पुरा हुने गरी सहमति भएको खण्डमा मात्र हामी सरकारमा सहभागी हुने छौं ।

फोरमको आधारभूत माग-हिन्दी मधेशकी सम्पर्क भाषा

हामी हाम्रो आधारभुत मागबाट पछि हटेका छैनौं। अहिले पनि हामी समग्र मधेश एक प्रदेशको माग गर्दैछौं। आत्म निर्णयसहितको समग्र मधेश प्रदेश हाम्रो मुख्य लक्ष्य नै हो। त्यो पुरा गराउँछौं।

हिन्दी भाषालाई मधेशको सम्पर्क भाषा बनाउने कुरामा केही तलमाथि भएपनि समग्र मधेशको सम्पर्क भाषा हिन्दी नै हो। 

अहिले केही कुराहरुलाई हामीले तथस्ट राखेका छौं । केही साथीहरुले मातृ भाषामा शपथ ग्रहण गरेपनि हामी मधेशलाई जोड्ने भाषा खोज्दैछौं। 
मुख्य कार्ययोजना भनेको संघीयतालाई टिकाउनु र मधेशको विकास गर्नु हो। बाँकी अन्य मागहरुलाई एकपछि अर्को गरी पुरा गराउँदै जाने छौं।

ईयूको प्रतिवेदनबारे फोरमको धारणा

ईयूको प्रतिवेदनलाई हामीले स्वागत गरेका छौं। ईयूले सही सुझाव दिएको छ। आरक्षण सीमान्तकृतलाई दिनु पर्ने हो। देशका हरेक अंगमा हालीमुहाली हुनेलाई आरक्षण दिनु भनेको आरक्षण नै समाप्त पार्नु हो।

त्यसकारण खस आर्यको आरक्षण हटाउनु पर्छ। दलित, पिछडावर्ग र गरीबलाई आरक्षण दिनु पर्छ। हाम्रो आन्दोलनको माग नै त्यही थियो। ईयूले त्यस विषयमा बोलियो। हाम्रो लागि सकारात्मक हो। 

एकल जातिवादी सोच भएका खस आर्यका नेताहरुले विरोध गर्नु स्वभाविक हो। उनीहरुले देशलाई एकल जातीय बनाई राख्न चाहेका छन्। हामीले देशमा सबैको प्रतिनिधित्व खोजेका छौं। त्यसैले ईयूको प्रतिवेदनलाई स्वागत गरेका छौं ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell