PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नयाँ दिल्लीबाट फर्किएलगत्तै बेइजिङ उड्ने तयारीमा प्रधानमन्त्री ओली: यस्तो छ तयारी



विधुर ढकाल

नयाँ दिल्लीबाट फर्किएलगत्तै बेइजिङ उड्ने तयारीमा प्रधानमन्त्री ओली: यस्तो छ तयारी

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली चैत २३ गते नयाँ दिल्ली जाँदै छन्। नयाँ दिल्लीबाट फर्किएसँगै बेइजिङ जाने तयारीसमेत समानान्तर रुपमा भइरहेको छ। 

अप्रिल ८ गतेदेखि चीनको हेनान प्रान्तको बोआओमा हुने एसियाका लागि बोआओ मञ्ज (बोआओ फोरम फर एसिया)को वार्षिक सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली दिल्लीबाट फर्किएलगत्तै चीन जान सक्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए। 

प्रधानमन्त्री ओली चैत २३ गते देखि २५ गते (अप्रिल ६ देखि ८) सम्म भारतको  तीन दिने राजकीय भ्रमणमा जाँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका उनी भारतबाट फर्केर चीनको लागि प्रस्थान गर्न सक्ने सम्भावना बढेको छ। बोआओ सम्मेलन अप्रिल ८ देखि ११ सम्म चीनमा हुँदैछ। 

हरेक वर्ष बोआओमा हुने सम्मेलनमा प्रत्येक वर्ष नेपालबाट उच्चस्तरीय सहभागिता हुँदै आएको छ। बोआओ सम्मेलनमा सहभागी हुन नेपाललाई आयोजकले निम्तो दिएको छ। अहिलेसम्म सम्मेलनमा को सहभागिता हुने टुंगो नलागे पनि परराष्ट्र मन्त्रालयले उच्चस्तरीय सहभागिताका लागि तयारी अगाडि बढाएको ती अधिकारीले जानकारी दिए। 

‘चीनबाट सम्मेलनमा उच्चस्तरीय सहभागिताको अपेक्षा राखिएको छ, नेपालले पनि उच्चस्तरीय सहभागिता जनाउँछ,’ नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भने, ‘हाम्रो तर्फबाट यसअघि २०१५ मा राष्ट्रपति सहभागी हुनु भएको थियो। त्यसपछि प्रधानमन्त्रीहरुले सहभागी जनाउनु भयो। यस पटक पनि उच्च स्तरीय सहभागिता हुन्छ।’ 

हालसम्म को सहभागी हुने टुंगो नलागेपछि राष्ट्रपतिको सहभागिताको सम्भावना कम रहेको उनले बताए। ‘राष्ट्रपतिको सहभागिता हुने सम्भावना न्यून छ, सभामुखको पनि नाम आएको छ तर त्यसमा पनि छलफल भएको छैन्,’ ती अधिकारीले पहिलोपोस्टसँग भने, ‘प्रधानमन्त्रीले पनि चासो राख्नुभएको छ, तयारी पनि त्यस्तै छ। उहाँ नै सहभागी हुन सक्नुहुन्छ।’ 

सन् २००१ मा स्थापना भएको बोआओ फोरममा यसअघि नेपालबाट २०१५ मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादव अतिथिको रुपमा सहभागी भएका थिए। त्यस्तै २०१७ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष वक्ताका रुपमा त्यहाँ पुगेका थिए। सम्मेलनमा सहभागी हुन पुगेका प्रचण्डलाई चीनले बेइजिङमा राजकीय सम्मानसमेत दिएको थियो। 

२०१६ मा ओली प्रधानमन्त्रीको हैसियतमै बोआओ पुगेका थिए। यसपटक पनि सोही मौकामा प्रधानमन्त्री ओली बेइजिङको राजकीय भ्रमण गर्ने सम्भावनासमेत रहेको छ। 

यसैको तयारीका लागि चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरु नेपाल भ्रमण गरेर फर्किएका छन्। गत बुधबार राति नेपाल आइपुगेको चिनियाँ विदेश मन्त्रालयको वाह्य मामिला हेर्ने अधिकारीसहितको टोली नेपाल आएर परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेर फर्किएको थियो। 

चिनियाँ टोलीले परराष्ट्र मन्त्रालयको उत्तर पूर्वी एसिया महाशाखाका अधिकारीहरुसँग उच्चस्तरीय भ्रमणको विषयमा छलफल गरेको थियो। 
टोलीले चीन नेपालबाट उच्चस्तरीय भ्रमणको पर्खाइमा रहेको संकेत दिएर फर्किएको छ। सोही अनुरुप महाशाखाले पनि भ्रमणको तयारी गरिरहेको छ। 

यसअघि प्रधानमन्त्री ओलीलाई पहिलो विदेश भ्रमण भारत कि चीन भन्नेमा दबाबसमेत परेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell