काठमाडौं: लेजेन्ड्री म्युजिसियन विजय वैद्यको निधन भएको छ। निमोनिया लागेपछि दुई साताअघि टिचिङ अस्पतालमा भर्ना भएका उनको आज बिहान ५ बजे मृत्यु भएको हो। ५२ वर्षीय वैद्य पछिल्लो केही वर्ष यता बिरामी थिए।
सन् १९९१ मा स्थापना भएको 'सुरसुधा' साङ्गीतिक ब्यान्ड'को संस्थापक सदस्य रहेका उनी उक्त समूहबाट बाहिरिएर 'सोलो आर्टिस्ट'को रूपमा काम गरेका थिए।
शास्त्रीय वाद्ययन्त्र सितारको आवाजलाई विद्युतीय माध्यमबाट निकालेर 'रक सितार' बजाउथेँ उनी। दाँतबाट सितार बजाउने शैलीको कारण चर्चित रहेका उनी आफूलाई 'सितार योगी' भनेर चिनाउथें। देशविदेशमा धेरै कन्सर्ट गरेर चर्चा कमाएका उनले सन २००० मा आफ्नो लागि आफै इलेक्ट्रिक सितार बनाएका थिए।
वैद्यले सन २००१ मा सितार सुधा, सितारान्स २००३, म्युजिक अफ पिस २००६, रक सितार २०११, च्यान्टस अफ हिमालय, विजय २०१३ लगायत दर्जनौँ एल्बम निकालेका थिए।
उनले फ्रान्समा ५ सय, जर्मनीमा २ सय, जापानमा ४०, बेल्जियममा २० वटा कन्सर्टहरू गरेका थिए। ती बाहेक अन्य देशमा पनि संगीत सुनाउन उनी पुगेका थिए।
लन्डन र फ्रान्सको अन्तर्राष्ट्रिय म्युजिक अवार्ड जित्नुका साथै धेरै देशमा सम्मानित भए। उनले सन् १९८० मा प्रयोग संगीत समिति अलाहाबादबाट म्युजिकमा मास्टर डिग्री सकाएका थिए। उनको आजै दाहसंस्कार गर्ने बताइएको छ।