PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आफ्नै पार्टीको सरकारको निर्णयमा मुख्यमन्त्री गुरुङको आपत्ति: बिदा कटौती तुरुन्त फिर्ता लिन आग्रह



नरहरि पौड्याल

आफ्नै पार्टीको सरकारको निर्णयमा मुख्यमन्त्री गुरुङको आपत्ति: बिदा कटौती तुरुन्त फिर्ता लिन आग्रह

पोखरा: प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेको बिदा कटौती निर्णयाप्रति आक्रोश व्यक्त गरेका छन्। मुख्यमन्त्री गुरुङले आदिवासी जनजातिहरुको सांस्कृतिक पर्वमा बिदा कटौती गरेको भन्दै त्यसलाई तुरुन्त फिर्ता लिन आग्रह गरे।

तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदले आइतबार पोखरामा आयोजना गरेको प्रदेश नामाङ्कन विचार गोष्ठीमा गुरुङले केन्द्र सरकारले संविधानको मर्म विपरीत पर्वहरुको बिदा कटौती गरेकाले तत्काल निर्णय सच्याउन आग्रह गरेका हुन्। 

मुख्यमन्त्री गुरुङले सार्वजानिक बिदाका दिएका कारण देश विकास हुन नसकेको नभई राजनीतिक दलका नेता र भ्रष्टहरुको आचरणले नै मुलुकको विकास हुन नसकेको बताए।  उनले देशका सबै तहमा समान अधिकार र पहुँच हुनुपर्ने भन्दै सडककै बलमा अधिकार स्थापित गर्न खोजे मुलुकमा अस्थिरता निम्तिने बताए।

गुरुङले प्रदेश ४ गुरुङ जातिको अादिम थलो भएको भन्दै सबै जातजाति, समुदायको सहमति र सहकार्यमा प्रदेशको नामाकरण गरिने बताए। प्रदेश नामाकरण गर्न संसदीय समिति बनेको भन्दै संसदको दुई तिहाइले नामाकरण गर्न सक्ने व्यवस्था रहेको भन्दै नामाकरणमा व्यापक छलफल हुनु पर्ने उनको भनाइ थियो।

एमाले सांसद इन्द्रधारा विष्टले समय सापेक्ष प्रदेशको नामाकरण हुनुपर्ने भन्दै संसदीय समितिसँग छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले अधिकार स्थापित गर्न आफैँ भित्र एकता हुनुपर्ने समेत बताए। 

कार्यक्रममा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले सबैको अधिकार सुनिश्चित भए मात्र राष्ट्र बलियो हुने भन्दै सरकार एकात्मक सोचबाट पछि हट्नुपर्ने बताए। उनले सरकारले गुरुङ समुदायको एक दिने बिदालाई समेत कटौती गरेर एकात्मक सोच पालेको जिकिर गरे।
 
माओवादी केन्द्रकी प्रदेश सांसद गायत्री दुरा गुरुङले पार्टीले प्रदेशलाई पहिचानका आधारमा नामाङ्कन गर्न लबिङ गरिरहेको बताइन्। 

त्यसैगरी राष्ट्रिय जनमोर्चाका सांसद पियारी थापाले सबै जातजातिको अधिकार सम्मान हुनुपर्ने भन्दै अधिकार लडेर लिनुपर्ने औँल्याइन। 
नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले प्रदेश ४ लाई गुरुङ जातिको पहिचानका आधारमा तमुवान नामाकरण नगरिए नोट अफ डिसेण्ट लेख्ने धम्की दिए। उनले गुरुङहरुको थतथलो रहेको प्रदेश ४ लाई तमुवान प्रदेश घोषणा गर्न आफ्नो पार्टीले पहल गर्ने समेत बताए।

गोष्ठीमा आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले जातीय सदभाव बिथोल्न सरकार नै अगाडि बढेको भन्दै सबै धर्म, जातजातिको समान अधिकार हुनुपर्नेमा जोड दिए। उनले सरकारले पछिल्लो समय गरेका निर्णयहरु आदिवासी जनजातिमाथिको अन्याय भएको भन्दै तत्काल बिदा कटौती फिर्ता लिनुपर्ने बताए। 

आदिवासी जनजाति अगुवा डा. ओम गुरुङले ऐतिहासिक, राजनितिक आधारमा प्रदेश ४ को नाम तमुवान राख्नुपर्नेमा जोड दिए। उनले विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक पर्वहरुको बिदा कटौती गरेर सरकारले विभेदकारी नीति लिएको जिकिर गरे। 
कार्यक्रममा स्तम्भकार राजेन्द्र महर्जन,अर्का स्तम्भकार युग पाठकलगायतले धारणा राखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell