काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जिम्मेवारीको कामलाई कुनै पनि बहानामा आलटाल नगरी अघि बढाउन निर्देशन दिएका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श समितिको बैठकलाई आइतबार साँझ बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्राधिकरणको कामको प्रगतिसँग आफू सन्तुष्ट नरहेको पनि बताए।
‘निर्माणको काम धिमा गतिमा भयो’ प्रधानमन्त्री ओलीले भने ‘यसलाई गति दिनुपर्छ।’
कतिपय पीडितले मापदण्ड नपु¥याइ घर निर्माण गरेको भन्दै सरकारले दिने अनुदान रोक्नु जायज नभएको ओलीको भनाई छ। ‘भूकम्पको गएको तीन वर्षपछि मापदण्डको फिता र डण्डी लिएर गएर हुँदैन’ प्रधानमन्त्री ओलीले भने ‘निर्माण गरिसकेका घरलाई अनुदान उपलब्ध गराउनु पर्दछ।’
पहिलेदेखि बसोबास गरिआएका तर जग्गाधनी पूर्जा नभएका पीडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्री ओलीले निर्देशन दिए। अनुचित ढंगले नबसेको पीडितलाई अनुदान रोक्न नहुने प्रधानमन्त्रीको भनाई छ।
प्रधानमन्त्रीले सिंहरदरवारको मूल भवनमा भइरहेको रेट्रो फिटिङमा असन्तुष्टि जनाउँदै कुन उद्धेश्यले गरिएको हो भन्दै बैठकमा चासो व्यक्त गरे। आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सुरु गरेको म बनाउँछु मेरो धरहरा कार्यक्रम अलपत्र परेको भन्दै त्यसलाई निरन्तरता दिने प्रधानमन्त्री ओलीले बताए।
परिषदमा १४ सांसद् मनोनीत
प्रधानमन्त्री ओलीले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका सांसदलाई परिषदमा मनोनीत गरेका छन्। ऐनको व्यवस्था अनुसार उनीहरुलाई मनोनीत गरिएको हो।
जसमा यज्ञराज सुनुवार, पार्वत गुरुङ, श्यामकुमार श्रेष्ठ, अग्नि सापकोटा, गंगाबहादुर तामाङ, हरिवोल गजुरेल, प्रेम सुवाल, गगन कुमार थापा, मोहन आचार्य, भूमि त्रिपाठी, हितबहादुर तामाङ, पम्फा भूसाल, बिरोध खतिवडा र हरिराज अधिकारी रहेका छन्।