काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवारको प्रिय सदस्यको बिछोडमा पनि पीडालाई शक्तिमा बदलेर आफू राष्ट्र र जनताको निम्ति समर्पित भएको बताएका छन्। चलचित्र कान्छीको विशेष प्रदर्शन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र र जनताको निम्ति अझ बढी समर्पित गर्ने सङ्कल्प समेत गरे।
‘श्वेताजीले आफ्नो पीडालाई शक्तिमा बदलेर आफ्नो श्रीमानको सम्झनामा श्वेता श्री फाउण्डेशन खडा गरेर माझी बस्ती बनाउने सामाजिक क्रियाकलाप र चलचित्रद्वारा सामाजिक सन्देश दिने साहस गर्नुभएको छ, उहाँलाई धन्यवाद दिन चाहन्छु’, अध्यक्ष प्रचण्डले भने ‘मैले आफ्नन परिवारका परिवारका सदस्यहरूको बिछोडको पीडालाई शक्तिमा बदलेर राष्ट्र र जनताको निम्ति अझ बढी समर्पित गर्ने सङ्कल्प गरेको छु।’
चलचित्र कान्छीको प्रदर्शनको ४३ औँ दिनको अवसरमा कुमारी हलमा विशेष प्रदर्शनी आयोजना गरिएको थियो। अध्यक्ष प्रचण्डले चलचित्र कान्छी सामाजिक र पारिवारिक चलचित्रको रूपमा रहेको र कथावस्तुमा पनि सामाजिक सन्देश, भावना, द्वन्द लगायतको सबै पक्ष भएकोले उत्कृष्ट रहेको बताए।