स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानको एट्लेटिको मड्रिडले डेपोर्टिभा ला कुरानालाई १-० ले पराजित गरेको छ। केभिन गमेइरोले पहिलो हाफमा गरेको पेनाल्टी गोल नै एट्लेटिकोको जितका लागि निर्णायक बन्यो।
सउल निगेजलाई डपोर्टिभाका पेड्रो मोस्क्वेएराले पेनाल्टी एरियामा फल गरेपछि एट्लेटिकोले पेनाल्टी प्राप्त गरेको थियो र त्यसैमा गमेइरोले ३४औँ मिनेटमा गोल गरे।
जितपछि एट्लेटिकोले तेस्रो स्थानको रियल मड्रिडमाथि ४ अंकको अग्रता बनाएको छ। घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा एट्लेटिकोको यो लगातार आठौँ जित हो। जनवरी २० यता एट्लेटिको घरेलु मैदानमा पराजित भएको छैन।
ला लिगाकै अन्य खेलमा भ्यालेन्सियाले लेगानेसलाई तथा भियारियलले मालागालाई समान १-० ले पराजित गरेको छ। ३० खेलबाट ६२ अंक जोडेको भ्यालेन्सिया चौथो तथा ४७ अंक रहेको भियारियाल पाँचौ स्थानमा छ।