काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादलाई परिभाषित गर्दै न्यायोचित वितरण नै समाजवाद भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले उत्पादनमा वृद्धि मात्र होइन समुचित वितरण नै आफूहरूको समाजवाद उन्मोख सिद्धान्त रहेको बताएका छन्।
आज एमाले पार्टी कार्यालयमा 'मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण' कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,‘समाजवाद उन्मुखबाट आत्तिनु हुँदैन। समाजवाद उन्मुख भनेपछि केही केही आतंकित हुन्छ। यो त गरिबले पनि खान पाउने भए कि कसो भन्ने सोच्छन्?’
‘३६ प्रतिशत जनता गरिबीको रेखामुनि छन्। त्यसलाई शून्य प्रतिशतमा झार्छौ,' ओलीले भने,‘न्ययोजित वितरणसमेतको हाम्रो कार्य छ। सबैका लागि त्यही हो समाजवाद। यही हो समाजवाद उन्मुख भनेको।’
समाजवाद उन्मुख भनेपछि आत्तिन नहुने उल्लेख गर्दै ओलीले भने,‘कसैको खोस्ने भन्या छैन। तर गरिबलाई पनि धनी हुने बाटो बनाई देको छु भन्दा किन आत्तिन्छन्। बाटो त छदैछ देशमा सबैका लागि।’
‘गरिबले पनि गाडी गुडाउ भन्दा गाडी गुडाइ राख्नेलाई पीडा किन पर्यो?' ओलीले प्रश्न गरे। तीन वर्षभित्र विकासशिल राष्ट्र र १३ वर्षमा दिगो विकास कार्यक्रमको लक्ष्य पुरा गर्ने ओलीले बताए।
पार्टी एकताका विषयमा ओलीले भारत भ्रमणको अगाडि पनि हुन सक्ने अथवा पछाडि पनि हुन सक्ने बताए। कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार कमल कोइराला सम्मानित भए।