काठमाडौँः आसन्न भारत भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सदनलाई जानकारी दिँदैछन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले भारत भ्रमणका विषयमा जानकारी दिनेछन्। भ्रमणबारे जानकारी दिनका लागि प्रतिनिधिसभा सभामुखसँग प्रधानमन्त्रीले समय लिइसकेका छन्।
प्रधानमन्त्री यही चैत २३ गतेदेखि भारत भ्रमणमा जाँदैछन्। तीन दिने भ्रमणका क्रममा उनले आर्थिक विकासका एजेण्डासहित महत्वपूर्ण राजनीतिक भेटघाट समेत गर्दैछन्।
भ्रमणका एजेण्डाबारे ओलीले सदनलाई जानकारी दिन लागेका हुन्।
अधिवेशन अन्त्य हुने
यसैबीच प्रधानमन्त्रीको सम्बोधन र विचाराधीन दुई अध्यादेश अनुमोदनपछि संघीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ। मंगलबार नै प्रतिनिधिसभामा विचाराधीन चिकित्सा शिक्षा र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश स्वीकृत हुनेछन्। दुबै अध्यादेश स्वीकृत गर्ने कार्यसूची सचिवालयले सोमबार नै प्रकाशित गरिसकेको छ।
संसदको चालु अधिवेशनमा दुबै सदनका पदाधिकारी चयन भएका छन्। यस्तै, अन्तरिम कार्यविधि अनुमोदन भइ नियमावली मस्यौदा समिति गठन भएको छ। संसद् नभएको अवस्थामा जारी तीन अध्यादेश सदनमा पेश भइ कारबाहीका चरणमा छन्।
यस्तै, संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गरेकी छन्। प्रधानमन्त्रीले समसामयिक विषयमा सदनमा एकपटक बक्तव्य दिएका छन्। सरकारले आर्थिक श्वेतपत्र संसदबाट सार्वजनिक गरेको छ।