PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

'जनयुद्ध, चुनाव चिह्न र सङ्गठनात्मक संरचना'मा अल्झियो वाम एकता, संयोजन समितिले सुल्झाउला विवाद?



पहिलोपोस्ट

'जनयुद्ध, चुनाव चिह्न र सङ्गठनात्मक संरचना'मा अल्झियो वाम एकता, संयोजन समितिले सुल्झाउला विवाद?

काठमाडौँः नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणका लागि गठित एकता संयोजन समिति बैठक आज बस्दै छ। राजनीतिक प्रतिवेदन लेखन तथा विधान मस्यौदा तयार पार्न गठित कार्यदलको प्रतिवेदनमा छलफल गर्न संयोजन समिति बैठक बस्न लागेको हो। दुबै कार्यदलले प्रतिवेदन बुझाइसकेका छन्। 

संयोजन समितिमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरू छन्। 

प्रधानमन्त्रीे ओलीको भारत भ्रमणअघि नै पार्टी एकीकरणको तयारी गरिए पनि कार्यदलले तयार पारेको प्रतिवेदनका केही विषयमा सहमति नजुटेका कारण एकीकरण घोषणा हुन नसकेको हो। दुबै दल वैशाख ९ गतेको समयसीमाभित्र एकीकरण गर्नेगरी अहिले परामर्शमा छन्। 
राजनीतिक प्रतिवेदन लेखन कार्यदल सदस्य एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले वैशाख ९ भित्र एकीकरण गर्नेगरी संयोजन समितिमा छलफल भइरहेको बताए। संयोजन समितिमा छलफलपछि प्रतिवेदनमा शीर्ष नेता र कार्यदलमा छलफल हुने बताए।


के के हुन् विवाद

दुबै कार्यदलले राजनीतिक प्रतिवेदन र विधानको मस्यौदा शीर्ष तहमा बुझाइसकेका छन्। राजनीतिक प्रतिवेदनमा जनयुद्ध शब्द राख्ने वा नराख्ने विषयमा विवाद छ। स्रोतका अनुसार अहिलेसम्म भएका जनआन्दोलन र जनक्रान्ति शब्द राखेर जाने एमालेको प्रस्ताव छ। माओवादीले जनयुद्ध नै राख्नुपर्ने अडानमा छ। 

यस्तै, पार्टीको नेतृत्व, केन्द्रीय संरचना र त्यसमा प्रतिनिधित्वको अनुपातमा दुई दलबीच विवाद छ। सह–अध्यक्ष राख्नेमा सहमत भए पनि माओवादीले जिल्लास्तरसम्मै सोही मोडालिटीमा जान प्रस्ताव गरेको छ। एमालेले उक्त प्रस्ताव अस्वीकार गर्दै आएको छ। 

केन्द्रमा सह–अध्यक्ष राख्नेमा सहमति भए पनि जिल्लामा भागबन्डा नगरी राजनीतिक पकडका आधारमा नेतृत्व गर्नुपर्ने एमालेको भनाइ छ।  कार्यदलले २९९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ। जसमा माओवादीले ५० प्रतिशत हिस्सा माग गरेको छ। एमालेले त्यसलाई अस्वीकार गर्दै आएको छ। दुई दलबीच चुनावी टिकटमा ६०–४० को भागबन्डा भएको थियो। भने, निर्वाचन परिणाम करिब ७०–३० को अनुपातमा थियो। 

दुई दलबीच चुनाव चिह्न कुन लिएर अघि बढ्ने भन्नेमा पनि विवाद छ। सूर्य चिह्नमा एमालेको जोड छ। माओवादीले आफ्नो चिह्नमा अडान नलिए पनि चिह्न फेरेर जानु उपयुक्त हुने धारणा राख्दै आएको छ।

केही राजनीतिक सिद्धान्त र वर्गीय दृष्टिकोणमा पनि मतान्तर छ। तर, ती विषयमा  ठूलो मतभेद नरहेको दुबै दलका नेताहरुको भनाई छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell