PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

मलेसियामा रोकियो म्याग्दीका बुद्धि परियारको शव, दूतावासले सहयोग नगरेको परिवारको गुनासो



पहिलोपोस्ट

मलेसियामा रोकियो म्याग्दीका बुद्धि परियारको शव, दूतावासले सहयोग नगरेको परिवारको गुनासो
प्रतीकात्मक तस्वीर

बेनीः रोजगारीका लागि मलेसियामा पुगेका जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ।

गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे पनि दूतावासले थप प्रक्रियामा बेवास्ता गर्दा अस्पतालमै शव रोकिएको मृतकका भिनाजु सुनील परियारले जानकारी दिए।

“कम्पनीले नेपाली दूतावासले एउटा कागज नदिएको बताउँछ। दूतावासमा फोन गर्दा विभिन्न बहाना बनाउँछन्” परियारले भने।

गत आइतबार मृत्यु भएका परियारको शव एकसातासम्म अस्पतालमै रोकिँदासमेत दूतावासले सामान्य पहल नगरेको त्यहाँ कार्यरत नेपालीको गुनासो रहेको छ।

“नेपालीकै लागि काम गर्न बसेका नेपाली दूतावासका कर्मचारीलाई मृत्युको कुनै वास्ता छैन। उनीहरुलाई बिदामा रमाउनै ठिक्क छ”, मृतक परियार कार्यरत एसएच कम्पनीका एक नेपालीले भने।

कम्पनीले मृतकको शवलाई तत्काल अस्पतालमा पु¥याएर आवश्यक प्रक्रिया पूरा गरी नेपाल लैजान तयारी अवस्थामा रहेको बताएको सात दिन बितिसक्दा समेत नेपाली दूतावासबाट सहयोग नभएको भन्दै नेपालीले आक्रोश पोखेका छन्।

घरबाट आफन्तले शवलाई बेली खोलामै अन्त्येष्टिको चाहना व्यक्त गरेपछि कम्पनीमा कार्यरत नेपालीले पहल गरेका थिए। यता काठमाडौँमा रहेका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले श्रम मन्त्रालय लगायत सरकारी निकायमा पहल भइरहेको बताए।

“नेपालमा शव ल्याए हामीले आफैँ गाउँमा पु¥याउँछौँ। शव ल्याउनै समस्या भइरहेको छ” अध्यक्ष रोकाले भने। उनले एउटै गाउँका दुई युवा मलेसियामा मृत्यु भएको शोकमा गाउँ रहेको समेत बताए पनि मलेसियामै प्रक्रिया रोकिएको बताएपछि थप पहल गरिने बताए।

करिब पाँच वर्ष अगाडि मलेशिया पुगेका परियारको परिवारिक अवस्थासमेत निकै नाजुक छ। आर्थिक अवस्था कमजोर भएकै कारण किरिया खर्चलगायत थप सहयोग जुटाउनु पर्ने अवस्था रहेको स्थानीयको भनाइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell