PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

मनाङलाई हराउँदै थ्री स्टारले जित्यो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको उपाधी



चन्द्रकान्त खनाल

मनाङलाई हराउँदै थ्री स्टारले जित्यो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको उपाधी

रुपन्देही : रुस्लान थ्री स्टार क्लबले मोफसलको सर्वाधिक पुरस्कार राशी रहेको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको उपाधी जितेको छ। चिरपरिचित प्रतिद्वन्दी मनाङ मर्स्याङ्दीलाई २-१ ले पराजित गर्दै थ्री स्टार च्याम्पियन बनेको हो।

एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै थ्री स्टारले वर्षको चौथो उपाधि जितेको हो।

च्याम्पियन थ्री स्टारले १५ लाख नगदसहित मेडल र प्रमाणपत्र हात पार्‍यो। उपविजेतामा  बनेको मनाङले ७ लाख ५० हजारमा चित्त बुझायो। सेमिफाइनलबाट बाहिरिएका दुवै टिमले ५०-५० हजार प्राप्त गरे।

थ्री स्टारले एक महिना अघि बुटवलमै भएको मोफसलकै सबैभन्दा पुरानो गोल्डकप तिलोत्तमा गोल्डकपको २०औं संस्करणको उपाधि जितेको थियो।

बुटवलको रामनगरस्थित मानव ज्ञान माबिको मैदानमा भएको खेलको दोस्रो मिनेटमै विशाल राईले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा मनाङले उक्त अग्रतालाई कायम राखेपनि दोस्रो हाफमा थ्री स्टारले पुनरागमन गर्दै २ गोल गर्‍यो।

अनन्त तामाङले ६९औँ मिनेटमा सुनिल वलको पासलमा थ्री स्टारका लागि बराबरी गोल फर्काए। बराबरीपछि दोस्रो हाफमा दुवै टिमले आक्रामक खेल खेलेका थिए। थ्री स्टारका लागि विदेशी खेलाडी एजयी मार्टिनले खेलको ८२औं मिनेटमा गोल गर्दै जित दिलाए।

फाइद्दलमा पराजित भएपनि मनाङमा अन्जल विष्ट प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले नगद ५० हजारसहित मेडल प्राप्त गरे। यस्तै प्रतियोगिता अवधिभर ४ गोल गरेका अन्जनले सर्वाधिक गोलकर्ताको पुरस्कार बावत थप १५ हजार पाए।

विधागत उत्कृष्टतर्फ पनि थ्री स्टारकै खेलाडीको वर्च्स्व रह्यो। थ्री स्टारका पिटर उत्कृष्ट डिफेण्डर, कप्तान निराजन खड्का उत्कृष्ट मिडफिल्डर र मार्टिन उत्कृष्ट फरवार्ड घोषित भए भने मेघराज केसी उत्कृष्ट कोच चुनिए। आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका विनायक श्रेष्ट उत्कृष्ट गोलकिपर घोषित भए। उनीहरुले नगद १५ हजार पुरस्कार प्राप्त गरे।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश न. ५ को आयोजनामा चैत ९ गतेदेखि बुटवलमा भएको तेस्रो अन्तर्राष्ट्रिय मदन भण्डारी गोल्डकपको विजेता टिम तथा उत्कृष्ट खेलाडीलाई प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell