
पोखरा : प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्बी सुब्वा गुरुङ लगायत प्रदेश जनप्रतिनिधिहरुको टोलीले भूतपूर्व खेलाडी मन्त्रसँग फुटबल खेल खेल्ने भएको छ।
संयुक्त राष्ट्र संघको आयोजनामा खेलकुदका माध्यमद्वारा विश्वमा शान्ति स्थापना गर्ने उदेश्यले अप्रिल ६ मा हुने कार्यक्रमलाई प्रदेश ४ मा समेत मनाउने भएपछि मुख्यमन्त्री गुरुङसहितको टोलीले मैदानमा भिड्ने भएका हुन्।
प्रदेश सरकारको कप्तानी सम्हालिरहेका प्रदेश ४ का मुख्यमन्त्री गुरुङले फुटबलमा प्रदेश जनप्रतिनीधीहरुको समेत कप्तानी गर्दै पोखरा रंगशलामा उत्रने भएका हुन्।
मैत्रीपूर्ण प्रतियोगिताको प्रतिद्वन्दीका रुपमा प्रदेशका जनप्रतिनीधीहरुले पूर्व खेलाडीहरुको साझा संस्था भूतपूर्व खेलाडी मञ्च पाएको छ। जनप्रतिनीधीहरुलाई यो अवसर मञ्चले नै जुटाएको हो।
मंञ्चका अध्यक्ष तेज बहादुर गुरुङले पोखरा रंगशालामा चैत २४ गते शनिबारका दिन प्रदेश जनाप्रतिनीधी र भूतपूर्व खेलाडी मञ्च नेपालकाबीच मैत्रीपूर्ण फुटबल खेल हुने बताए। मञ्चको तर्फबाट अध्यक्ष तेज गुरुङले कप्तानी सम्हाल्नेछन्।
प्रदेशका तर्फबाट प्रदेश सरकारका मन्त्री, प्रदेश सांसदहरुको सहभागिता रहनेछ भने अर्कोतर्फ आफ्नो जीवनकालमा खेलकुदका माध्यमद्वारा राष्ट्रको झण्डा माथी उठाउने पूर्व राष्ट्रिय खेलाडीहरुको जमघट रहने छ।
संयुक्त राष्ट्र संघले हरेक वर्ष शान्ति र समृद्धीका लागि अप्रिल ६ लाई अन्तर्राष्ट्रिय खेलकुद दिवशका रुपमा मनाउँदै आएको छ। यो कार्यक्रम साताव्यापी रुपमा मनाउने गरिन्छ।
कार्यक्रमले प्रदेशको खेलकुद विकासका लागि समेत महत्वपूर्ण फाइदा पुग्ने मञ्चका अध्यक्ष गुरुङले बताए। ‘सरकारलाई नजिकबाट खेलकुद बिकासको बोध गराउन पनि कार्यक्रमले भुमिका खेल्नेछ’ उनले भने। नेपाल ओलेम्पिक कमिटीका केन्द्रिय सदस्य समेत रहेका गुरुङले प्रदेशलाई खेलकुद पर्यटनको राजधानीको रुपमा विकास गर्न सहयोगी समेत हुने बताए। सन २०१९ मा हुने १३औं दक्षिण एशियाली खेलकुदको लागि पूर्वाधार विकासलाई गति दिन र साग गेम्सका धेरै भन्दा धेरै खेल पोखरामा आयोजना गर्न मैत्रीपूर्ण फुटबल कार्यक्रमले सन्देश दिन सक्ने उनको भनाई छ।