PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पार्टी एकतामा ‘फिप्टी– फिप्टी’को माओवादी प्रस्तावः एकता संयोजन समितिमा पेस गरिँदै



विधुर ढकाल

पार्टी एकतामा ‘फिप्टी– फिप्टी’को माओवादी प्रस्तावः एकता संयोजन समितिमा पेस गरिँदै
फोटो फाइल

काठमाडौँः पार्टी एकताका लागि गठित एकता संयोजन समितिको बैठकमा माओवादी केन्द्रले सङ्गठनात्मक संरचनामा बराबरी हैसियत माग गर्ने भएको छ। 

एकताका लागि विधान तथा प्रतिवेदन मस्यौदाका लागि गठित कार्यदलले बुझाएका प्रतिवेदनमाथि छलफल गर्न आज संयोजन समितिको बैठक बस्दै छ। बैठकमा सङ्गठनात्मक एकताका लागि बराबरी हैसियत माओवादी केन्द्रले माग गर्ने भएको छ। 

माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ नेतृत्वको विधान तथा सङ्गठनात्मक कार्यदलमा देखिएको असहमतिलाई आज हुने बैठकमा छलफल हुने बताइएको छ। 

कार्यदलले केन्द्रमा दुई दलका अध्यक्षलाई समान हैसियत सहितको सङ्गठनात्मक संरचना बनाउने सहमति बनाएको छ। सह(अध्यक्षको प्रावधानसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव कार्यदलले तयार गरेको छ। यही सङ्ख्यामा कसको भागमा कति पाउने भन्ने विवाद रहेको छ। 

माओवादी केन्द्रले सबैभन्दा तल्लो कमिटी प्रारम्भिक कमिटी देखि नै ५०–५० को हिस्सा माग गरेको छ। ‘हाम्रो बटमलाइन भनेको नै सम्मानजनक प्रतिनिधित्व हो,’ प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य समेत रहेका एकता संयोजन समितिका सदस्य देवेन्द्र पौडेलले पहिलोपोस्टसँग भने, ‘आजको बैठकमा यही विषयमा छलफल हुन्छ, हाम्रो माग भनेको ५०–५० को सहभागिता हो।’ 

एमालेले भने माओवादीले उठाएको ५०–५० को मुद्दाले एकता प्रक्रियामा बाधा पुग्ने बताएको छ। विधान मस्यौदा कार्यदलका सदस्य तथा एमाले नेता बेदुराम भुसालले जनमतको आधारमा पार्टी एकता हुने भन्दै ५०–५० स्वीकार गर्न नसक्ने बताए। 

‘निर्वाचनमा ६०–४० को भागबन्डा भएकै हो, जनमतले ७०–३० मात्र अनुमोदन गर्योव’ उनले भने, ‘उहाँहरूले अहिले ५०–५० को कुरा गरिरहनु भएको छ, यसले एकता प्रक्रियामा समेत अवरोध ल्याउन सक्छ।’ 

पार्टी एकताका सूत्रधार मध्येका एक माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीको केन्द्रीय कमिटीमा एउटाको २०० र अर्काको ९९ सदस्य स्वीकार नहुने बताइसकेका छन्। 

प्रधानमन्त्रीको भारत भ्रमण अगाडि नै पार्टी एकता गर्ने बताइए पनि यही विवादका कारण एकता लम्बिएको छ। 

सोमबार मात्र पनि नेकपा ९माओवादी० केन्द्रका अध्यक्ष प्रचण्डले चितवनमा पुगेर पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले दिएको प्रतिवेदन अनुसार पार्टी एकता हुने बताएका थिए। 

उनले बराबरी सिद्धान्तले पार्टी एकतामा अप्ठ्यारो नपर्ने बताउँदै पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा नहुने बताएका थिए। उनले पार्टी एकता चुनाव जस्तो नभई बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्ने बताएका थिए। 

आज ४ बजे बालुवाटारमा बोलाइएको पार्टी एकता संयोजन समितिको बैठकमा कार्यदलले पेस गरेका प्रतिवेदनसहित प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा समेत छलफल हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell