काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा नयाँ सम्झौता भन्दा पनि पुराना सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा ध्यान दिने बताएका छन्।
चैत २३ गते २५ गते सम्म हुन लागेको भारतको राजकीय भ्रमणको बारेमा संसद्लाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा सम्झौताको गन्ती भन्दा पनि पुराना सम्झौतालाई कार्यान्वयनमा जोड दिने बताए ।
‘भ्रमणमा जाँदै गर्दा हामीकहाँ सम्झौताको गन्ती गर्ने प्रचलन छ, मैले यसभन्दा अगाडिको मेरो भारत भ्रमणका क्रममा पनि नयाँ सम्झौतामा जोड दिएको थिइन्,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यतिवेला दूरगामी महत्त्वका केही सम्झौता र देशको हितमा भए, म नयाँ सम्झौताको चाङ लगाउने पक्षमा छैन्, भएका सम्झैतालाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरामा जोड दिन्छु।’
प्रधानमन्त्री ओलीले पुराना सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि गहन छलफल गर्ने बताए । ‘नयाँ गर्दै नगर्ने भन्ने होइन, आवश्यकता अनुसार नयाँ पनि गर्ने हो तर पुरानालाई बिर्सिने होइन,’ संसद्लाई भ्रमणबारे जानकारी गराउँदै उनले अगाडि भने, ‘नयाँ हुँदै जान्छन्, पुराना सम्झौता कार्यान्यवन कसरी गर्न सकिन्छ। अध्यावधिक गर्न सकिन्छ त्यसतर्फ ध्यान जान्छ।’
भारत भ्रमणबाट नेपाल र भारतका बिचमा रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ बढी व्यापक र सुदृढ हुँदै जाने छ प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गरे। उनले भ्रमणका क्रममा समानता पारस्परिक लाभका आधारमा आगामी दिनमा लाभदायी ढंगले सम्बन्ध विस्तार गर्ने विषयमा समेत छलफल हुने बताए।
श्वेतपत्र निरासापत्र होइन
यसैबिच संसद्को बैठकमा बोल्दै प्रधानमन्त्री अोलीले सरकारले संसद्मा प्रस्तुत गरेको श्वेतपत्र नेपालको अर्थतन्त्रको यथार्थ त्रिचण गरिएको पत्र भएको बताए। उनले अगाडि भने, 'यो निराशा पत्र हो केही गर्न सकिँदैन भनेर निराश हुन पर्दैन। यो यथार्थ पत्र हो। यस यथार्थ पत्रमा झुटा आँकडा प्रस्तुत गरिएको छैन। भएको अवस्था बताइएको छ।'उनले श्वेतपत्र सफलताको संकल्प पत्र भएको भन्दै त्यसैलार्इ हेरेर अगाडि बढ्न सकिने बताए। उनले सरकारले अपराध नियन्त्रण गर्ने भन्दै शान्तिपूर्ण समाज बनाउँने प्रतिबद्धा व्यक्त गरे।