PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डा: नेपाल प्रवेशको नयाँ हवाई रुटदेखि जलमार्गसम्म



बीपी साह

प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डा: नेपाल प्रवेशको नयाँ हवाई रुटदेखि जलमार्गसम्म

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे औपचारिक जानकारी संघीय संसदको तल्लो सदन प्रतिनिधि सभालाई गराएको छ।
२३ गतेबाट सुरु हुने प्रधानमन्त्री ओलीको राजकीय भारत भ्रमणमा अधिकांश विकास निर्माणका एजेन्डा समेटिने जनाइएको छ।

प्रधानमन्त्री ओलीले सदनलाई गराएको जानकारीअनुसार १५ वटाभन्दा बढी एजेन्डा भारत भ्रमणका क्रममा राखिने छ।

सन् १९५० को सन्धि पुर्नावलोकनको विषयमा छलफल भइरहेको बताउँदै भ्रमणका क्रममा थप छलफल हुने ओलीले जानकारी गराए।
पानी जाहाज चलाउने ओलीको सपना अन्तरगत जलमार्गको विषयमा पनि छलफल हुने उनले बताए। गंगाको बाटोबाट सामान ल्याउने विषयमा छलफल हुने ओलीले सदनलाई जानकारी गराए। 

सीमा पार रेलमार्ग योजना तथा अन्य रेल योजनामा भारतीय सहयोगबारे छलफल हुने उनले बताए। 

त्यसैगरी नेपाल प्रवेशका लागि थप हवाई विन्दु खोजी विषयमा पनि भारतीय पक्षसँग छलफल हुने ओलीले बताएका छन्।
उर्जामा लगानी तथा साझेदारीका विषयमा थप छलफल हुने बताउँदै ओलीले पञ्चेश्वर आयोजना अगाडि बढाउने विषयमा सहमति हुन सक्ने जानकारी गराए।

नेपालको व्यापार घाटा अन्त्यका विषयमा संयुक्त प्रयास गर्ने विषय तथा भारतमा भएको नोटबन्दीका कारण नेपालीहरुमा परेको नोक्सानीका विषयमा पनि छलफल हुने उनले बताए। 

हुलाकी राजमार्गको प्रगति र थप निर्माण तथा भूकम्पपछिको भारतीय सहयोगका विषयमा छलफल हुने बताए।
महाकाली नदीमा पुल निर्माण तथा सीमा क्षेत्रको बाढी डुबानका विषयमा पनि कुराकानी हुने ओलीले बताए।

भ्रमणमा नेपाली ग्याँस बुलेट सञ्चालनमा देखिएका समस्या, विमस्टेक र सार्क जस्ता संस्थाको उपयोगिताका विषय पनि समेटिनेछन्। 
सीमा सुरक्षा, मानव तस्करी तथा अपराधीलाई आश्रय दिएको विषयमा पनि छलफल हुने उल्लेख गर्दै ओलीले भने ‘नेपालीको शिर निहुराउने कुनै पनि सम्झौता हुँदैन। देशको पक्षमा सम्झौता हुनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell