PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

भारत भ्रमणका 'एजेन्डा'मा सुझाव लिन प्रधानमन्त्री परामर्शमा



पहिलोपोस्ट

भारत भ्रमणका 'एजेन्डा'मा सुझाव लिन प्रधानमन्त्री परामर्शमा

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणमा आफूले तय गरेका एजेन्डामा सुझाव लिन परामर्श सुरु गरेका छन्। चैत २३ गतेबाट हुने भारत भ्रमणको एजेण्डमा पूर्व प्रधानमन्त्री, कूटनीतिज्ञहरूसँग आफ्ना एजेन्डाबारे परामर्श गर्न लागेका हुन्। ओलीले अहिले पूर्वप्रधानमन्त्रीहरूसँग भ्रमणका विषयमा सुझाव लिइरहेका छन्। 

प्रधानमन्त्रीको निजी सचिवालयले पूर्वप्रधानमन्त्री लगायत कूटनीतिज्ञसँग भ्रमणअघि सुझाव लिने तयारी अनुसार परामर्श सुरु भएको जनाएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा हुन लागेको भ्रमणका प्राथमिकता र एजेन्डा मङ्गलवार संसद्मार्फत सार्वजनिक भइसकेका छन्। तीन दिने भ्रमणमा नयाँ सहमतिभन्दा पुराना सम्झौता तथा प्रतिबद्धता कार्यान्वयनले नै प्राथमिकता पाउने उनले जनाएका छन्। 

प्रधानमन्त्री नेपालको हवाई रुट थपदेखि जलमार्ग प्रयोगसम्मका नयाँ एजेन्डा लिएर भारत जाँदै छन्। यस्तै, लामो समयदेखि कार्यान्वयन हुन नसकेको पञ्चेश्वर बहुउदेश्यीय सम्झौता योपटक पनि आफ्नो एजेन्डा रहेको प्रधानमन्त्रीले बताइसकेका छन्। 

कृषि आधुनिकीकरण, हुलाकी राजमार्ग, संयुक्त चेकपोस्ट लगायतका विषय प्रधानमन्त्रीका एजेन्डा छन्। दुबै देशका साझा चासोका विषय पनि प्रधानमन्त्रीका भ्रमणका एजेन्डा रहेका छन्। 

सार्क तथा विमस्टेक सम्मेलन र बिबिआइएनमार्फत क्षेत्रीय सहकार्य बढाउने विषय पनि आफ्ना एजेन्डा हुने प्रधानमन्त्रीले बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell