PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

रुट खारेज गर्ने चेतावनीपछि डराए व्यवसायी, अनिश्चितकालीन हड्ताल एक दिनमा सीमित



दिनेश खड्का

रुट खारेज गर्ने चेतावनीपछि डराए व्यवसायी, अनिश्चितकालीन हड्ताल एक दिनमा सीमित

काठमाडौँः सरकारले रुट परमिट खारेज गर्ने चेतावनी दिएपछि मयुर यातायात विरुद्ध उत्रिएका व्यवसायीले हड्तालका कार्यक्रम छोट्याएका छन्।

मयुर यातायात सञ्चालनमा आएको विरोधमा अनिश्चितकालीन हड्तालको घोषणा गरेका कोटेश्वर पूर्वका व्यवसायीले बुधबार मात्रै गाडी बन्द गर्ने निर्णय गरेका हुन्।

गृहमन्त्री रामबहादुर थापा र यातायात व्यवस्था विभागले हड्ताल गर्ने गाडीको रुट नै खारेज गर्ने चेतावनी दिएपछि उनीहरूले हड्तालको कार्यक्रम छोट्याएको एक व्यवसायीले बताए।

कोटेश्वर पूर्व यातायात समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले आज मात्रै बस नचलाएको बताए। 

उनले भने ‘हामी आज एक दिन समिति मातहतका सबै गाडी रोक्छौँ यदि सरकारले कुनै चासो दिएन भने शुक्रबार बाँकी आन्दोलनका कार्यक्रम घोषणा गरेर अघि बढ्छौ।’ 

यो विषयमा चैत २६ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका व्यवसायीसँग छलफल गर्दैछ।

कोटेश्वर पूर्व यातायात समन्वय समितिमा हेलम्वु यातायात, काभ्रे बस सेवा समिति, नयाँ बाटो सद्भाव सेवा समिति, पुरानो बाटो सद्भाव समिति, हिमाल तरार्इ बस सेवा समिति, काभ्रे मिनीबस सेवा समिति, भक्तपुर मिनीबस सेवा समिति लगायतका १२ वटा समिति रहेका छन्। यी समितिमा करिब दुई हजार बस आबद्ध छन्।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले स्थानीय प्रशासनको सहयोगमा बस सेवा रोक्ने समितिहरूको लगत सङ्कलन गरिरहेको बताए।

‘यदि बस सेवा रोकेको प्रशासनबाट जानकारी आए हामी त्यो समितिको रुट इजाजत खारेज गरिदिन्छौँ’ उनले भने '४० प्रतिशत बसहरु चलेको भन्ने जानकारी पाएको छु। यदि कसैले सिन्डिकेट कायम राख्न गाडी रोक्छ भने विभागले रुट खारेज गर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell