काठमाडौंः पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले–माओवादी दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको बताएका छन्।
बुधबार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता टुंगाउने तयारी भइरहेको बताएका हुन्। ‘पार्टी एकता प्रक्रिया सहज ढंगले अघि बढिरहेको छ। हिजो मात्र हामीले राजनीतिक प्रतिवेदन र विधान मस्यौदा कार्यदलको रिपोर्ट बुझेका छौं। दुवै पार्टीलाई सहज हुने गरी एकता टुंगाउन हामी लागिरहेका छौं,’ प्रचण्डले भने।
अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन मस्यौदा समितिको प्रतिवेदनमा दुवै पार्टीको मतऐक्य रहेको बताए। भने, ‘मस्यौदा समितिले एकताको साझा प्रतिवेदन बुझाएको छ, त्यसमा हामी एकमत छौं। विधानका केही कुरामा साझा धारणा बन्न बाँकी छ, त्यसलाई एकता संयोजन समितिको बैठकमा टुंगो लगाउँछौं।’
पार्टी एकता अन्तिम चरणमा पुगेको बेला रोक्न विभिन्न चलखेल सामना गर्नुपरेको प्रचण्डले खुलाए। ‘भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भएका छन्। तर, त्यसले एकता रोक्न सक्दैन’, अध्यक्ष प्रचण्डले भने, ‘तपाई सांसदहरुले पनि सचेत ढंगले एकताको पक्षमा भूमिका खेल्नुहोला। चलखेलबाट प्रभावित नभई एकतालाई टुंगोमा पुग्ने गरी आफ्नो ठाउँबाट भूमिका खेल्नुस्।’
अध्यक्ष प्रचण्डले केन्द्रमा अध्यक्षीय मोडलमा जाने सहमति भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा कुन मोडेलमा जाने भन्ने विषयमा ठोस निष्कर्षमा नपुगिएको बैठकलाई जानकारी गराए। संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो।