काठमाडौं : पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्सले डीपीएलमा पहिलो जित हात पार्दा शक्ति गौचनको रुपन्देही च्यालेन्जर्सले भने लगातार तेस्रो हार बेहोरेको छ।
विदेशी खेलाडी बाबर हायतको अर्धशतक तथा बलरहरु शुभम कामत र रामनरेश गिरीको उत्कृष्ट प्रदर्शन मद्दतमा विराटनगरले रुपन्देहीलाई ४२ रनले पराजित गरेको हो।
धनगढीस्थित एसएसपी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनाएको थियो। जवाफमा रुपन्देहीले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो।
विराटनगरका लागि हङकङका खेलाडी बाबर हायतले सर्वाधिक ५८ रन बनाए। ३५ बल खेलेका हायतले ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै दीलिप नाथले ४३ तथा अनिल कुमार शाहले ३६ रन जोडे। ३७ बल खेलेका दीलिपले ६ चौकार १ छक्का प्रहार गरे भने अनिलले २५ बल खेल्दै समान ३ चौका र छक्का प्रहार गरे। यस्तै कप्तान पारस खड्काले १२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २२ रन बनाए। बलिङमा रुपन्देहीका विदेशी खेलाडी सुफ्यान मेहमुदले २ विकेट लिए।
रुपन्देहीका लागि प्रदिप ऐरीले अर्धशतक बनाउनु बाहेक अन्य खेलाडीको ब्याटिङ राम्रो हुन सकेन। लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने क्रममा प्रदिपले ५० बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाए। प्रदिपले काठमाडौं गोल्डेन्स विरुद्ध ५७ रन प्रहार गरेका थिए। यस्तै दीपक प्रसादले २२ रन जोडे। यस्तै सुशन भारी २१ तथा कप्तान शक्ति गदचन १४ रनमा नटबउट रहे।
बलिङमा विराटनगरका सुभम कामतले ३ तथा रामनरेशले २ विकेट लिए।