काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ भारत भ्रमणका क्रममा नयाँ सम्झौता भन्दा पनि पुराना सम्झौता कार्यान्वयनमा जोड दिन पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन्।
भारत भ्रमण जाने तयारीमा रहेका प्रधानमन्त्री अोलीले सुझावका लागि पूर्वप्रधानमन्त्रीहरू तथा नेपाल भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्यहरूलार्इ बालुवाटारमा बोलाएका थिए।
पूर्वप्रधानमन्त्रीहरुले पुरानो मानसिकता राखेर २१ औँ सताब्दीको सम्बन्ध विकास गर्न नसकिने भन्दै नयाँ सोचका साथ सम्बन्ध विस्तार गर्न सुझाव दिएका थिए।
पूर्व प्रधानमन्त्री प्रचण्डले संविधाननिर्माण र नाकाबन्दीका बेला अफ्ठ्यारो भएको नेपाल–भारत सम्बन्ध अहिले सुधार भएको भन्दै भारतलाई संविधान खासै समस्या नरहेको बुझाउन सुझाव दिए।
पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थिर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए। पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई नियन्त्रण गर्ने विषयमा छलफल केन्द्रित बनाउन आग्रह गरे।
प्रधानमन्त्री अोली चैत २३ गते देखि २५ गते सम्म भारतको राजकीय भ्रमणमा जाँदै छन्। प्रधानमन्त्री अोली स्वंमले पनि यसपटकको भारत भ्रमणमा नयाँ सम्झौता भन्दा पनि पुराना सम्झौता कार्यान्वयनमा जोड दिएका छन्।
आज बिहान बालुवटारमा पूर्व प्रधानमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पारेका थिए। ‘यसपालिको भ्रमणमा कुनै सन्धी सम्झौताहरू हुँदैनन्। देशको अहितमा कुनै काम गरिँदैन। विगतका सन्धी सम्झौता कार्यान्वयनमा जोड दिइनेछ,’ पूर्वप्रधानमन्त्री ओलीले छलफलका क्रममा भने, ‘यस भ्रमणले दुई देश बिचको सम्बन्ध सुमधुर बनाउन महत्त्वपूर्ण भूमिकानिर्वाह गर्नेछ।’
प्रधानमन्त्री निवासमा भएको छलफलमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, मन्त्री परिषद्का पूर्व उपाध्यक्ष खिलराज रेग्मी सहभागी थिए।
त्यस्तै नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) का नेपालतर्फका संयोजक डा भेषबहादुर थापा, सदस्यहरू निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, राजन भट्टराईसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपनि सहभागी थिए।