PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

एमाले - माओवादी एकता: के होला जातीय एजेन्डा? 



बीपी साह

एमाले - माओवादी एकता: के होला जातीय एजेन्डा? 
फोटो: तमुवान जागरण अभियान

काठमाडौंः एकल जातीय पहिचानका आधारमा देश संघीयतामा जानुपर्ने मुद्दा उठाउँदै आएको माओवादी केन्द्र नेकपा एमालेसँग एकीकरणको तयारीमा छ। एकल पहिचानको मुद्दाको आडमा युद्ध सशक्त बनाएको थियो माओवादीले।

जातीय मुक्ति मोर्चाहरूको सशक्त उपस्थितिले पार्टी शक्तिशाली बनेको थियो। त्यही इतिहास बोकेको माओवादी ठिक विपरीत एकल जातीय पहिचानसहितको संघीयताको तीव्र विरोध गर्दै आएको पार्टी एमालेसँग एकीकरणको प्रक्रियामा छ।

यही पृष्ठभूमिमा पार्टीभित्र रहेका माओवादीको जातीय संरचना तथा मुक्ति मोर्चाहरू पनि विलय हुने त हैन? भनी पार्टीभित्रै प्रश्न उठ्न थालेको छ।

यता जातीय मुद्दा व्यापाक रूपमा उठ्न थालेपछि यी मुद्दाहरूमाथि छलफल गर्न एमालेले पनि जातीय संगठनहरु बनायो। जातीय भोट तथा कार्यकर्ता परिचालनका लागि जातीय संगठनहरु एमालेमा पनि महत्वपूर्ण मानियो। 

'जातीय मुद्दा माया मार्न सकिदैन'

माओवादी नेताहरूले जातीय मोर्चाको माया मार्न नसकिने बताउँदै आएका छन्। माओवादी सांसद हितवहादुर तामाङले एमाओवादीले जातीय मागहरूलाई नछोड्ने बताए।

‘जातीय क्षेत्रीय मागहरू पनि नेपालको यथार्थ माग हुन्। नयाँ संविधान आउँदैमा यी समस्याहरू समाधान भइसकेको होइन। जातीय समस्या भनेकै वर्गीय समस्याको अर्को रूप हो। यो समस्यालाई अहिलेको बदलिएको परिवेशमा छलफल गर्न जरुरी छ,’ तामाङले भने।

जातीय आन्दोलन र एजेन्डाको रूप परिवर्तन भए पनि सधैँ उठी रहने उनले बताए। पहिचानको आन्दोलन अहिले पनि जारी रहेको बताउँदै तामाङले विभिन्न सामाजिक संघ संस्थाहरूले अगाडि बढाएकोमा खुसी व्यक्त गरे।

पार्टी एकतामा जाँदैमा पहिचानको मुद्दा समाप्त नहुने बताउँदै तामाङले भने,‘प्रदेशहरूलाई जातीय पहिचान दिने कुरो पनि बाँकी नै छ। आधिकारिक धारणा आउन बाँकी नै छ।’

एमालेसँग एकताका लागि जातीय एजेन्डा छोडेको भन्दै माओवादीबाट गोपाल किरांतीलगायतका नेताहरू बाहिरी सकेका छन्।

संविधान जारी भएपछि माओवादीले अधिकांश जातीय राज्य समितिहरूलाई अस्तित्वहीन बनाइसकेको छ। जातीय राज्य समितिहरूलाई अस्त्विहीन बनाउँदै प्रदेश समितिहरू गठन गरिएको छ।

माओवादीभित्र अहिले पनि केही नेताहरूले जातीय राज्य कायम गर्न एकता समितिका सदस्यहरूलाई दबाब दिइरहेका छन्। तर एमालेका नेताहरूले जातीय राज्यका विषयलाई अगाडि बढाउन मानेका छैनन्।

एमाले–माओवादी एकताका लागि बनाइएका समितिहरूमा जातीय एजेन्डाहरूका विषयमा छलफल भए पनि मूर्त रूप दिइएको छैन। जातीय विषयलाई विवादित विषय भनी थाती राख्ने प्रयास भएको समितिका एक सदस्यले बताए।

यसबारेमा एमाले–माओवादी एकता प्रक्रियाको प्रतिवेदन मस्यौदा कार्यदलका सदस्य एवं माओवादी नेता देव गुरुङ भन्छन् ‘जातीय विषयमा छलफल गर्न बनेका जातीय संगठनहरु रहिरहनेछ। हाम्रो पार्टीमा रहेका संगठनहरुमध्ये धेरैजसो जातीय संगठनहरु नै छन्, एमालेमा पनि छ कतिपय संगठनहरु छन्। ती सबै संगठनहरुको पनि एकता हुनेछ।’

तर गुरुङले जातीय एजेन्डाहरूका विषयमा बोल्न चाहेनन्। ‘संविधान मै असहमतिका कुरा अहिले गर्ने होइन।’ गुरुङले भने,‘अहिले मिल्नेमिल्ने कुराहरूलाई छलफल गरेर पार्टी एकता गर्ने हो। जातीय राज्य समिति र जातीय संगठनहरुका विषयमा पछि कुरा गर्ने हो।’

एमालेले जातीय संगठनलाई निरन्तरता देला त?

एमाले नेता एवं मस्यौदा समितिका सदस्य सुभाष नेम्वाङले अहिले त्यस विषयमा चर्चा नगर्ने सहमति भएको बताए।

‘कार्यदलको प्रतिवेदनका आधारमा एकता हुने हो। अहिलेसम्म सबै कुरा बाहिर आइसकेको छैन।’ नेम्वाङले भने,‘कतिपय जातीय संगठन माओवादीले तोडि सकेको छ। कतिपय संगठन अहिले पनि छ। तर जातीय एजेन्डा र राज्यका कुरा हामीले अहिले गरेका छैनौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell