काठमाडौं : कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक तथा विदेशी खेलाडी सन्नी पटेल र सुबोध भाटीको उत्कृष्ट बलिङ मद्दतमा काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियरलिगमा लगातार तेस्रो जित हात पारेको छ।
अपराजित रहदै ३ खेल झितेको काठमाडौं प्लेअफ नजिक पुगेको छ। अब बाँकी दुईमध्ये एक खेल मात्र जितपनि काठमाडौंको प्लेअफ यात्रा पक्का हुनेछ। अत्तरियाको भने ३ खेलमा यो दोस्रो हार हो।
१३८ रनको लक्ष्य पछ्याएको सिवाइसी अत्तरियालाई १२६ रनमा रोक्दै ११ रनको जित हासिल गरेको हो।
धनगढीस्थि एसएसपी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाएको थियो। काठमाडौंका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक ५७ रन बनाए। ४३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै नरेश बुढाएरले २७ तथा रसिद खानले १६ रन जोडे। बलिङमा अत्तरियाका शुवांकर उरावले ३ तथा कृष्ठ कार्की र विपिन चन्द्राले २-२ विकेट लिए।
काठमाडौंलाई मध्यम स्कोरमा रोक्न सफल भएको अत्तरियाले ब्याटिङमा भने राम्रो गर्न सकेन। औलाका चोटका कारण कप्तान सुवास खकुरेलले ओपनिपङ गरेनन् र उनको स्थानमा कुशल भुर्तेलले प्रेम तामाङसँ ओपनिङ गरेका थिए। तर सुरुवात राम्रो हुन सकेन। प्रेम ४ तथा कुशल ८ रनमा आउट भए। दुई विदेशी खेलाडी गौरव चित्काराले ३६ तथा विपिन चन्द्राले नटआउट २६ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। सन्दीपल जोराले २१ रन जोडे।
अत्तरियालाई जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक थियो। तर १९औँ ओभर बलिङ गरेका काठमाडौंका भाटीले कुनै रन दिएनन् भने कमलसिंह ऐरीको विकेट लिए। त्यसपछि दबाबमा परेको अत्तरियालाई अन्तिम ओभरमा १८ जितका लागि १८ रन नै चाहिएको थियो। तर ७ रन मात्र बनाउन सकेपछि काठमाडौं ११ रनले विजयी भयो।
बलिङमा काठमाडौंका सुबोध भाटीले ३ तथा सन्नी पटेल र रसिद खानले २-२ विकेट लिए। भाटीले ४ ओभरमा १ मेडन राख्दै १० रन मात्र खर्चेर ३ विकेट लिएका हुन्। पटेलले ४ ओभरमा २० रन खर्चे।