.jpg)
- ध्रुवसागर शर्मा
बेनी/म्याग्दी : म्याग्दीका अक्करे भिरमा यतिबेला मह शिकारको याम शुरु भएको छ। मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह काटिरहेका छन्। तल बसेर हेर्दा रोमाञ्चक तर अत्यन्तै त्रास लाग्ने यो दृश्य देख्नेको मुटुको धड्कन बढ्छ।
भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ। म्याग्दीको हिस्तान, चिमखोला, मुदी गुर्जा दोसल्ले, शिखलगायतका गाउँमा रहेका भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरी (परङ) मा झुण्डिएर मह शिकार गरिरहेका छन्।
वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ। वसन्त ऋतुमा बेँशी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त हुने मह शिकधारीरू बताउँछन्।
मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा शिकारी बाँढिएका हुन्छन्। एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुण्डाउँछ भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछ।
यसरी भिरमा आफ्नो ज्यानको बाजी लगाएर निकालिने महबाट शिकारीले आकर्षक आम्दानी पनि गरिरहेका छन्। स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिने भिरमहको माग जति स्थानीय बजारमा छ, त्योभन्दा दोब्बर अन्तर्राष्ट्रिय बजारमा छ। विभिन्न किसिमका औषधि बनाउन पनि यसको प्रयोग हुँदै आएको मह व्यापारीको भनाइ छ।
'महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन्, धुवाँ लगाइदिएपछि मौरी भाग्छन्, त्यतिबेला मह निकाल्ने विशेष ध्यान पुर्याउनुपर्छ।' मह शिकारी अनिल घर्ती भन्छन्।
जब परङमार्फत गएका शिकारीले गोलामा धुँवा झोस्न शुरु गर्छ, माहुरीले टोक्ने डरले वरपरका सबै शिकारी रुख र ओडारमा लुक्छन्। माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरु बाहिर आउँछ अनि मह निकाल्न सजिलो हुने उनी बताउँछन्। मुख्य शिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ।
'मह निकाल्न सकियो भने बजारको खासै समस्या हुँदैन, व्यापारी जंगलमै आइपुग्छन्। बजारमा महको प्रतिलिटर रु दुई हजारमा बिक्री हुन्छ। अन्तर्राष्ट्रियस्तरमा यसको माग उच्च छ, यहाँबाट कोरियामा धेरै मह जाने गरेको छ, अब यसलाई थप व्यावसायिकरण बनाउँदै लैजानुपर्ने सो समूहका अगुवा समेत रहनुभएका अनिल घर्तीको सोच छ।
हामी जिल्लाको अधिकांश ठाउँमा महको शिकार गर्न जान्छौँ, जहाँ मह निकाल्छौँ त्यहाँको आमा समूह वा क्लबलाई केही रकम दिन्छौँ अनि उहाँहरुको अनुमतिमा हामीले मह निकाल्छौँ ।अहिले हाम्रो पाँच जनाको टोली छ। हाम्रो आम्दानीको मुख्य स्रोत नै यही हो। उनको भनाइ छ।
'सानो डोरीको सहायताले अडिनुपर्छ, पूरै हातले काम गर्ने हो, त्यसका लागि मुटु दह्रो र हात बलियो बनाउनुपर्छ' उनले भने 'हामी पनि पुर्खाले गरेको हेरेर सिकेका हौँ।' यस्तो जोखिम मोलेर निकालेको मह बजारमा एक हजारदेखि एक हजार २०० प्रतिलिटर बिक्री हुने गर्दछ। स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिबद्र्धक हुनुका साथै धार्मिक कार्यका लागि पनि प्रयोग हुने भएकाले भिरमहको माग उच्च हुने गरेको मह व्यापारीले बताएका छन्।