काठमाडौंः नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव निन्ह र बराबरी (फिप्टी/फिप्टी)को कुरा मिले पछि पार्टी एकता हुने बताएका छन्। प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
प्रचण्डले ‘जनयुद्ध’को विषयमा सहमति भइसकेको समेत जानकारी गराए। उनले ‘जनयुद्ध’ कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए। ‘कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि ‘जनयुद्ध’को ऐतिहासिक भूमिका रहेको कुरा उल्लेख गरिएको छ,’ उनले अगाडि भने, ‘अब चुनाव चिन्ह र बराबरीको विषयमा टुंगो लागेपछि एकता हुन्छ।’
कार्यदलमा यी तीन विषयमा सहमति जुट्न नसकेपछि सहमति जुटाउने जिम्मा पार्टी एकता संयोजन समितिलाई दिइएको थियो। यही विषयमा छलफल गर्न आज बालुवाटारमा बैठक बसेको थियो। बैठकमा सहमति जुट्न सकेन्। अब समितिको बैठक प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण पछि फर्किएपछि बस्ने छ।
उनले वैशाख ९ गते नै पार्टी एकता गर्ने सहमति भएको समेत बताए। ‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्रीजी भारत भ्रमणबाट फर्केर आएपछि एकताको कुरा टुंग्याउने समजदारी बनेको छ, २२ अप्रिलमै पार्टी एकता हुन्छ,’ उनले भने, ‘त्यो दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौँ। २२ अप्रिलका दिन शान्ति, समृद्धि र एकताको सन्देश नेपाल र विश्वभरि दिने योजना छ।’
रौतहटबाट दुई दर्जन कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। नवआगन्तुकहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नयाँ पार्टीमा रुपान्तरित भएपछि देश र जनताका धेरै समस्या समाधान हुने भएकाले अब निरास नहुन आग्रह पनि गरे।