काठमाडौं: अमेरिकी हिपहप गायिका एवंम र्यापर महागानी जोन्स र उनको ब्यान्ड विहीबार नेपाल आएको छ। अमेरिकी दूतावासको आयोजना हुने दुई सांगीतिक कार्यक्रमका लागि उनीहरु आएका हुन्। 'हाम्रो आवाज, हाम्रो भविष्य–सांगीतिक कार्यक्रम २०१८' नाम दिइएको सांगीतिक कार्यक्रम काठमाडौं र वीरगञ्जमा हुनेछ।
विहीबार पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी दिइयो। सम्मेलनमा नेपाल आउनुले आफू र आफ्नो टिमलाई निकै उत्साहित बनाएको जनाउँदै भनिन्,'हामी कलाको विभिन्न विधाबाट सामाजिक संदेश प्रवाह गर्नमा विश्वास गर्छौं। त्यसका लागि हिपहप पनि एउटा सशक्त माध्यम हो। तर हामी यहाँ हाम्रो प्रस्तुति दिन मात्र आएका होइनौं। धेरै कुरा यहाँका कलाकारबाट पनि सिक्नुछ।'
जोन्स र ब्यान्डले पहिलो प्रस्तुति चैत २४ गते शनिबार जावलाखेल फुटबल ग्राउण्डमा दिनेछ। उक्त कार्यक्रममा नेपाली कलाकारहरु लाहुरे, स्वप्न सुमन, सन्ध्या जोशी, कार्टुन्ज क्रु एवं नेपाल हिपहप फाउन्डेशनका कलाकारहरुले प्रस्तुति दिनेछन्। समृद्धी राई र सञ्जय गुप्ताले संचालन गर्ने कार्यक्रम तीन बजे सुरु हुने बताइएको छ।
त्यस्तै दोस्रो कार्यक्रम वीरगञ्ज आदर्शनगर रङ्गशालामा हुनेछ। कार्यक्रममा शिव परियार, सुनील पण्डित र सन्ध्या जोशीले ब्यान्डलाई साथ दिनेछन्। प्रेस्का उदासले उक्त कार्यक्रम संचालन गर्नेछिन्।