PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

यस्तो हुनेछ प्रधानमन्त्री ओलीको तीन दिने भारत भ्रमणको दौडधुप



विधुर ढकाल

यस्तो हुनेछ प्रधानमन्त्री ओलीको तीन दिने भारत भ्रमणको दौडधुप

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने राजकीय भ्रमणका लागि भोली बिहान दिल्ली प्रस्थान गर्दै छन्। दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले उच्चस्तरीय भेटवार्ता देखि त्यहाँका व्यवसायीहरुसँग समेत छलफल गर्ने कार्यक्रम तय भएको छ। 

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तीन दिने भ्रमणका लागि दिल्ली जाने कार्यक्रम रहेको छ। ओली नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै भारतको राष्ट्रपति भवन पुग्ने छन्। त्यहाँ प्रधानमन्त्री ओलीले भारत बसाई अवधिभर भारतको राजकीय पाहुनाको रुपमा आथित्यता ग्रहण गर्ने छन्। 

यस्तो छ प्रधानमन्त्री ओलीको भ्रमण तालिका

पहिलो दिन
भोलि शुक्रबार नयाँ दिल्लीमा ओर्लिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भवनमा केही समय आराम गर्ने छन्। त्यसपछि उनले भारतका उद्योगी तथा व्यवसायीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। यो अन्तरक्रियामा नेपालबाट जाने उद्योगी तथा व्यवसायीहरुको समेत सहभागिता हुने छ। 

यो कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री ओली साँझ नै अर्को अन्तरक्रियामा सहभागी हुने छन्। भारतमा रहेका नेपाली समुदायसँग उनले शुक्रवार साँझ नै अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साँझ प्रधानमन्त्री ओलीको सम्मानमा दिल्लीस्थित नेपाली दूतावासले ‘डिप्लोमेटिक रिसेप्सन’(रात्रिभोज)को आयोजना गर्ने छ। उनी रात्रिभोजमा सहभागी हुनुका साथै सोही अवसरमा उनले नेपाली समुदायका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ।   

दोस्रो दिन
दिल्ली भ्रमणको दोस्रो दिन शनिबार प्रधानमन्त्री ओली राजनीतिक भेटघाटमा व्यस्त हुने छन्। भारतको राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले औपचारिक रुपमा स्वागत  गर्ने छन्। 

शनिबार विहान प्रधानमन्त्रीको सम्मानमा आयोजित राजकीय स्वागतमा सहभागी हुनेछन्। त्यहाँ उनलाई सम्मान गारथ (गार्डअफ अनर) प्रदान र्ने छन्। लगत्तै उनी महात्मा गान्धीको समाधीस्थल राजघाटमा पुगी पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम तय भएको छ। 

प्रधानमन्त्री ओलीले शनिबार नै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। लगत्तै उनले भारतीय उपराष्ट्रपति एम वैंकया नायडुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। 

त्यस लगत्तै प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग द्विपक्षीय भेट गर्ने छन्। प्रधानमन्त्री ओलीको सम्मानमा मोदीले आयोजना गर्ने दिवाभोजमा समेत सरिक हुने छन्। सोही क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच ‘वान टु वान’ वार्ता हुनेछ। त्यसपछि दुई देशका प्रधानमन्त्रीको नेतृत्वमा द्विपक्षीय वार्ता हुने छ। 

वार्तापछि दुबै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरी सम्बोधन गर्ने कार्यक्रम बनेको परराष्ट्र स्रोतले जनाएको छ। 
शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुस्मा स्वराज, भारतका वित्त मन्त्री अरुण जेट्ली, गृहमन्त्री राजनाथ सिंहले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। 

लगत्तै प्रधानमन्त्री ओलीसँग भारतका विभिन्न राजनीतिक दलका प्रमुख तथा नेताहरुले भेट गर्ने कार्यक्रम तय भएको छ।  

भेटवार्तापछि दुबै देशका प्रधानमन्त्रीले शनिबार नै वीरगंजमा भारतीय सहयोगमा बनेको एकीकृत चेक पोष्ट (आइसीपी)को संयुक्त रुपमा दिल्लीबाट स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। 

लगत्तै दुबै प्रधानमन्त्रीहरुले भारतका इण्डिया फाउन्डेशनले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा वुद्धिजिवीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। 

तेस्रो दिन
भ्रमणको तेस्रो तथा अन्तिम दिन आइतबार प्रधानमन्त्री ओली नेपालसँग सीमा जोडिएको भारतको राज्य उत्तराखण्डमा पुग्ने छन्। उत्तराखण्डको पन्तनगर स्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने विशेष दीक्षान्त समारोहमा सहभागी हुने छन्। विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधी (डिग्री अफ डक्टर अफ साइन्स) प्रदान गर्ने कार्यक्रम रहेको छ। 

कार्यक्रम सकेसँगै प्रधानमन्त्री ओली नयाँ दिल्ली फर्किने छन्। त्यहाँ देखि आइतवार साँझ नै स्वदेश फर्किने कार्यक्रम तय भएको छ। 
प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सहभागी हुने छन्। हाल अजरवैजानमा रहेका परराष्ट्रमन्त्री ज्ञवाली अजरवैजानबाट सिधै दिल्ली पुगी भ्रमण टोलीमा सामेल हुने छन्। 

उनी अजरबैजानमा आयोजित असंलग्न राष्ट्रहरुको विदेशमन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन् त्यहाँ पुगेका हुन्। सम्मेलनमा सहभागी हुन भारतीय विदेशमन्त्री स्वराजसमेत अजरबैजानमा पुगेकी छन्। 

त्यस्तै यसअघि प्रधानमन्त्रीको भारत भ्रमणमा अर्थमन्त्री डा. युवराज खतिवडा जाने चर्चा थियो। तर उनको स्थानमा पूर्वाधार मन्त्री महासेठ जाने भएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell