PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'नन्दले सुरुवालमा आगो झोसिन्, दायाँ खुट्टा पुरै जल्यो'



राधेश्याम पटेल

'नन्दले सुरुवालमा आगो झोसिन्, दायाँ खुट्टा पुरै जल्यो'

वीरगंज: पर्सामा एक महिलालाई जलाएर सात दिनसम्म थुनेर राखेको खुलेको छ। विवाह भएको तीन वर्षपछि गहनाको विषयमा विवाद हुँदा छिपहरमाई गाउँपालिका वडा नं ४ की १८ वर्षीया रबिना खातुनलाई उनकै परिवारले जलाएर सात दिनसम्म थुनेको खुलेको हो।
 
गत चैत १३ गते बिहान रबिनाका श्रीमान साबिर मिया, ससुरा फर्जन मिया, सासू शोभा खातुन, देवरहरू सहरुम, साहुल, सुलतान र मुनचुनले मिलेर जलाउन खोजेको रबिनाले आरोप लगाइन्। 

रबिनाको उपचार नारायाणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भइरहेको छ। अस्पतालका डा एनामुल हकका अनुसार १८ प्रतिशतको ‘बर्न केस’ भएको बताए। उनको दायाँ खुट्टा पुरै जलेको छ।


उनी हिजो घरबाट भागेर ठुली आमाको घर वीरगंज ३ छपकैयामा आएपछि घटना बाहिर आएको हो। सर्जिकल वार्डको १२१ नं सिटमा रहेकी रबिनाले केही थान गहनाको लागि आक्रमण गरी आगो लगाएको बताइन्।

‘सुनको गहना नथिया, टिका, पायल, कानबाली, हतशंकर गहना ससुरा पक्षले मागे, मैले दिन मानिनँ,’ रबिनाले पहिलोपोस्टसित भनिन्, ‘त्यसपछि सबैले समाए, नन्द नजरानाले चुल्होको सल्किरहेको काठको दाउराले मैले लगाएको सुरुवालमा आगो लगाए, ज्यानमा आगो लागेपछि रोए, कराए, आगोले दायाँ खुट्टा पुरै पोल्यो,’ भक्कानिदैं उनले भनिन्, 'आगोले जलाएर कहीँ उपचार गर्नसमेत लगेनन्।'

बुधवार साँझ घरबाट भागेर वीरगंजको बसले ठुली आमाको घरमा पुगेको उनी बताउँछिन्। रबिनालाई मार्ने प्रयास भएको उनको भाइ पर्ने रेयाजुल अन्सारीको दाबी छ। 

घटनाबारे अनुसन्धान जारी रहेको पर्सा जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बुले बताए। उनको श्रीमान साबिर फरार रहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न परिवारका सदस्यलाई पक्राउ गर्न पहल गरिरहेको लिम्बुले जानकारी दिए। रबिनाको माइत पारसवा, भेलाही विहार हो। तीन वर्षअघि विवाह गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell