काठमाडौँ : आसन्न १३औँ दक्षिण एशियाली खेलकुद (साग)का लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको पूर्वाधार निर्माण तथा तयारी समितिले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई आज प्रतिवेदन बुझाएको छ।
समितिका संयोजक एवं राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पाले उक्त प्रतिवेदन बुझाउँदै दक्षिण एशियाली ओलम्पिक काउन्सिलले १३औँ सागमा २५ खेल समावेश गर्ने निर्णयलाई लक्षित गरी प्रतिवेदन तयार पारिएको अवगत गराए।
काउन्सिलले आर्चरी, एथलेटिक्स, फुटबल, ब्याडमिन्टन, बास्केटबल, भलिबल, ह्याण्डबल, बक्सिङ, तेक्वान्दो, उसु, जुडो, ट्रायथलन, कुस्ती, भारोत्तोलन, टेबलटेनिस, स्क्वास, कबड्डी, खो खो, लनटेनिस, सुटिङ, पौडी, साइक्लिङ, फेन्सिङ, कराते र गल्फ समावेश गर्ने निर्णय गरेको थियो।
प्रतिवेदनमा आर्चरी, भलिबल, ह्याण्डबल, महिला फुटबल र ट्रायथलनलाई पोखरामा आयोजना गर्न प्रस्ताव गरिएको छ। साइक्लिङ काठमाडौँ, चितवन वा नवलपरासीमध्ये एक स्थानमा गर्न उपयुक्त हुने सुझाव दिएको छ। बाँकी खेललाई काठमाडौँमा सञ्चालन गर्न प्रस्ताव गरिएको छ।
त्यस्तै सागमा समावेश खेलका खेल स्थल र प्रशिक्षणका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा पनि उल्लेख गरिएको छ। प्रतिवेदनमा मौजुदा पूर्वाधारलाई उचित मर्मतसम्भार गरी खेल खेलाउन उपयुक्त बनाउनाका साथै निर्माण गर्नुपर्ने नयाँ पूर्वाधारका विषयमा उल्लेख छ।
समितिले परिषद्मातहतका पूर्वाधार, नेपाली सेना, नेपाल प्रहरी, एपिएफ र विभिन्न संस्थाका पूर्वाधारको समेत अवलोकन गरेको थियो। प्रतिवेदन बुझेपछि मन्त्री विश्वकर्माले नेपालले आयोजनाको जिम्मेवारी पाएको उक्त खेललाई सफलतापूर्वक सम्पन्न गरी देशको गौरवलाई विश्वमा बढाउन सकिने हुँदा सबैको सहयोगको अपेक्षा राखेका छन्।