काठमाडौं : थाइल्याण्डको बैंककमा हुने एसीबीसी युथ एसियाली पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछन्।
यही अप्रिल २० देखि २८ तारिखसम्म हुने च्याम्पियनसिपको पुरुष ५६ केजीमा नेपालका सुरेन्द्र राई तथा महिला ५७ केजीमा कुसुम तामाङले प्रतिस्पर्धा गर्नेछन्।
अर्जेन्टिनामा हुने युथ ओलम्पिक गेम्सको छनोट आधार समेत रहेको प्रतियोगितामा सहभागी हुनुअघि उनीहरु थाइल्यान्डमै प्रशिक्षणमा रहने छन्। अन्तर्राष्ट्रियस्तरको अनुभव हासिल गर्न र विशेष प्रशिक्षणका प्रदान गर्न उद्देश्यले नेपाल बक्सिङ संघले थाई बक्सिङ संघसँग समन्वय गरी नेपाली खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाएको जनाएको छ।
टिम प्रशिक्षकमा दीपक राई तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठ रहेको छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र बक्सिङ संघका अध्यक्ष राम अवालेले एक कार्यक्रमबीच शुक्रवार सातदोबाटोमा बिदाइ गरे।
सो अवसरमा अध्यक्ष अवालेका परिवारले युथ ओलम्पिक गेम्समा छनोट हुन सफल खेलाडीलाई ५ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरे। त्यस्तै टिम व्यवस्थापक श्रेष्ठले १ बाउट जिते १० हजार तथा रजत र कांस्य जिते क्रमशः ५० र २५ हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाए।