काठमाडौं : तपाईँको काम कति बजेबाट सुरु हुन्छ? धेरै जनाको एउटै जवाफ आउनसक्छ- बिहान १० बजेदेखि साँझ ६ बजेसम्म।
तपाईँहरुको जस्तै काठमाडौंमा सक्रिय चोरहरुको पनि आफ्नै निर्धारित ड्युटी टाइम हुने गर्छ भन्दा अनौठो लाग्ला। पत्याउनु भएन? पत्याउनु होस् - मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म चोरहरुको 'प्राइम टाइम' चल्छ।
केहीवर्ष अगाडि रातिको १० बजेदेखि बिहानको ३ बजेसम्म रहेको चोरहरुको चोर्ने समय केही अहिले परिवर्तन भएको बताउँछन् प्रहरी अधिकृतहरु। पछिल्लो समय राजधानीमा हुने चोरी मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका रहेको तथ्याङ्क अनुसार १२ बजेदेखि ६ बजेसम्म धेरै चोरी भएका छन्। महाशाखाका एसपी उमाशंकर पंजियार केही वर्षयता दिउँसो हुने चोरी बढेको बताउँछन्। भन्छन्, 'धेरै मानिसको ड्युटी समय १० बजेदेखि ६ बजेसम्म हुन्छ। अरुको ड्युटी भएको बेला अधिकांश घर तथा कोठा खाली हुन्छ। यही मौका छोपी चोरहरुले आफ्नौ ड्युटी शुरु गर्छन्।'
राजधानीमा विगत ९ महिनामा भएका ठूला चोरीको रेकर्ड हेर्दा मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म ३२ वटा चोरी भएको उजुरी प्रहरीमा परेका छन्। साँझ ६ बजेदेखि राति १२ बजेसम्म १७ वटा चोरी भएको एसपी पंजियारले बताए।
'नियमित निगरानी गर्ने अनि सुटुक्क कोठा पसी फुर्सदले सामान चोरी गरेर निस्किने गरेको देखिन्छ,' एसपी पंजियारले भने।
९ महिनामा भएका १ सय १७ वटा ठूला चोरीहरु मध्ये प्रहरी ५७ वटामा मात्र प्रहरी सफल भएको देखिन्छ। बाँकीमा चोर सफल। प्रहरीले चोरीमा संलग्न १ सय १७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला पनि छिन्। केही धनमाल सहित ४७ वटा मोबाइल फेला पार्न प्रहरी सफल भएको छ। संगठित रुपमा समूह बनाएर चोरहरुले चोरी गर्ने ट्रेन्ड बढेको एसपी पंजियारले बताए।
सबैभन्दा बढी चोरी महाराजगञ्ज क्षेत्रमा
प्रहरीको तथ्याङ्क अनुसार उपत्यका भित्र सबैभन्दा बढी चोरी हुने ठाउँमा महाराजगञ्ज रहेको छ। नौ महिनामा भएका १ सय १७ वटा ठूला चोरी मध्ये १४ वटा महाजगञ्ज क्षेत्रमा नै भएका छन्। त्यसपछि धेरै चोरी हुने ठाउँमा बानेश्वर पर्छ। चालु आर्थिक वर्षमा १३ वटा चोरीका घटना बानेश्वरमा भएका छन्। कालीमाटी क्षेत्रमा १० वटा, बौद्धमा ९ वटा, सिंहदरवार ६ वटा, स्वयम्भुमा ५ वटा, सातदोबाटोमा ६ वटा, थिमिमा ८ वटा, बालाजुमा ८ वटा, सातदोबाटोमा ५ वटा, चाँपागाउँमा ४ वटा चोरीको घटना भएका छन्।
'धेरै जसो अफिस समयमा घर र कोठा खाली हुने स्थान नै चोरको निसानमा पर्ने गरेका छन्,' एसपी पंजियारले भने।
मन्त्री नै बचेनन्
चोरीको यो प्रवृत्तीबाट मन्त्रीसमेत बच्न सकेनन्। प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा निर्माणमन्त्री केशव स्थापितको घरमा शुक्रवार दिउँसै चोरी भएको छ। बौद्ध मंहाकालमा रहेको घरबाट सुन सहित गरेर सात लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको हो। दिउँसो कोही नभएको मौका छोपी ढोकाको ताल्चा फोडेर चोरी भएको महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी अच्युत पुडासैनीले जानकारी दिए। भने, '८ देखि १० तोला सुन चोरी भएको उजुरी परेको छ थप हामी अनुसन्धान गर्दैछौं।'
घरमा काम गर्ने राखेकी महिला बाहिर गएको बेला चोरी भएको बताइएको छ। प्रहरीले काम गर्ने महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।