काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल)अन्तर्गत शनिवार हुने भनिएको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको खेल वर्षाका कारण रद्ध भएको छ। वर्षाले खेल बिथोलिएपछि टस नै नगरी दुवै टोलीले १-१ अंक बाडेका छन्।
अंक बाँडेपछि ४ खेलबाट ५ अंक जोडेको महेन्द्रनगर युनाइटेड प्लेअफमा छनोट भएको छ। यसअघि नै ४ खेलबाट अपराजित रहदै ८ अंक जोडेको काठमाडौं गोल्डेन्स प्लेअफ पुगिसकेको छ। महेन्द्रनगर र अत्तरियाले अंक बाँडेपछि काठमाडौं शीर्ष स्थानमा रहदै प्लेअफ खेल्ने पक्का भएको छ।
उता ४ खेलबाट ३ अंकका साथ पाँचौ स्थानमा रहेको अत्तरियाका लागि प्लेअफ यात्रा कठिन बनेको छ। प्लेअफ पुग्न अब अत्तरियाले अन्तिम खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्सलाई पराजित गर्नुपर्नेछ।
डीपीएल अन्तर्गत आजै साविक विजेता टिम चौराह धनगढी र रुपन्देही चर्यालेनजर्सबीच खेल हुनेछ।
लगातार चार खेल हारेको रुपन्देही लिग चरणबाटै बाहिरिसकेको छ। प्लेअफ पुग्न चौराहको लागि आजको खेल महत्वपूर्ण छ। आजको खेलमा विजयी भए चौराहले प्लेअफको यात्रा पक्का गर्नेछ। यस्तो भएमा विराटनगर र अत्तरियाबीचको विजेता प्लेअफ पुग्ने चौथो टोली बन्नेछ।
चौराहले आजको खेल हारेपनि अर्को खेलमा विराटनगरले अत्तरियालाई पराजित गरे चौराह प्लेअफ पुग्नेछ।