काठमाडौं : साविक विजेता टिम चौराह धनगढी डीपीएलको प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ। शनिवार भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै सोमपाल कामीको कप्तानीमा रहेको चौराहले प्लेअफमा स्थान बनाएको हो।
रुपन्देही भने लिगका सबै ५ खेल हार्दै जितिविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अब विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच हुने खेलको विजेता प्लेअफ पुग्ने चौथो टिम बन्नेछ।
वर्षाका कारण खेलमैदान भिजेको कारण ८ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको टस हारेर पहिले ब्याटिङ गरेको टिम चौराहले सोनु तामाङको विष्फोटक ब्याटिङ मद्दतमा ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनाएको थियो। जवाफमा सागरले पुनको आक्रमक ब्याटिङ गरेपनि रुपन्देहीले ७३ रन मात्र बनाउन सक्यो।
१६ रन बनाउनुका साथै २ विकेट लिएका चौराहका विदेशी खेलाडी रोहन मुस्ताफा
धनगढीस्थित एसएसपी मैदानमा ११ रन हुँदा ३ विकेट गुमाएको चौराहका लागि रोहन मुस्ताफा र सोनु तामाङले चौथो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए।
आक्रमक ब्याटिङ गरेका तामाङले १४ बल खेल्दै १ चौका र ४ छक्काको मद्दतमा ३४ रन बनाए। मुस्ताफाले १३ बलमा १ छक्काको मद्दतमा १५ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन।
बलिङमा रुपन्देहीका सुसन भारीले ३, दीपेश श्रेष्ठले २ तथा सागर पुन र कप्तान शक्ति गौचनले १-१ विकेट लिए।
७७ रनको लक्ष्य पछ्याएको रुपन्देहीका लागि सागर पुनले ३३ रन बनाएपनि जिताउन सकेनन्। १६ बल खेलेका सागरले समान ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै दीपक प्रसादले १६ रन जोडे। जिततर्फ अगाडी बढिरहेको रुपन्देहीको रन स्कोरिङमा ब्रेक लगाउने क्रममा चौराहका रोहन मुस्ताफाले सातौँ ओभरको तेस्रो र चौथो बलमा सागर पुन र अमरसिंह रौटेलाको विकेट लिएका थिए।
अन्तिम बलमा विदेशी खेलाडी सुफयान मुहमदले छक्का प्रहार गरेपनि रुपन्देही जितबाट ३ रनले टाढा रह्यो।
बलिङमा चौराहका लागि रोहन मुस्ताफाले २ तथा ललित भण्डारीले १ विकेट लिए।
लिग चरण अन्तर्गत आइतवार काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेड तथा विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच हुनेछ।