PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

खै नोटबन्दी? खै हवाई मार्ग? यी हुन् प्रधानमन्त्रीले संसदसामु गरेका तर भारत भ्रमणमा पूरा नभएका प्रतिवद्धता



विधुर ढकाल

खै नोटबन्दी? खै हवाई मार्ग? यी हुन् प्रधानमन्त्रीले संसदसामु गरेका तर भारत भ्रमणमा पूरा नभएका प्रतिवद्धता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणका क्रममा दुई देशबीच तीन वटा ‘गेम चेञ्जिङ’ सहमतिहरु भए। अघिल्लो पटक प्रधानमन्त्री हुँदा संयुक्त वक्तव्यसमेत जारी हुन नसकेको तीतोलाई बिर्साउँदै यस पटक भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटपछि दुई देशका प्रधानमन्त्रीले १२ बुँदे संयुक्त वक्तव्यसमेत जारी भयो। 

तर प्रधानमन्त्री ओली भारत भ्रमण जानु दुई दिनअगाडि संसदलाई भ्रमणबारे जानकारी दिँदै गरेका वाचा भने पूरा गर्न सकेनन्। प्रधानमन्त्री ओलीले भारतमा भएको नोटबन्दी (डिमनिटाइजेसन)का कारण नेपालमा परेको असर र नेपालीसँग रहेको रकमको विषयमा भारतसँग कुरा गर्ने बताएका थिए। 

तर यो विषयमा प्रधानमन्त्री ओलीले कुनै पनि फोरममा उठाएनन्। शुक्रबार साँझ प्रधानमन्त्री निवासमै पुगेर भारतीय प्रधानमन्त्री मोदीसँग ४५ मिनेट गोप्य भेट गरे। शनिबार बिहान समेत पटक-पटक ‘रेस्ट्रिक्टेड’ र द्विपक्षीय भेटवार्ता भए। तर प्रधानमन्त्री ओलीले नोटबन्दीको असरका बारेमा कुरा नै उठाएनन्। 

भारतको विदेश मन्त्रालयले शनिबार आयोजना गरेको ‘प्रेस ब्रिफिङ’का क्रममा विदेश सचिव विजय गोखलेले नोटबन्दीको विषयमा कुनै पनि छलफल नभएको बताए। ‘यो विषय कुनै पनि छलफल र भेटवार्तामा उठेन,’ पत्रकारको जिज्ञासामा गोखलेले भने। 

भेटवार्तापछि भएको संयुक्त सम्बोधनमा समेत यस विषयमा प्रधानमन्त्री ओलीले कुनै कुरा उठान गरेनन्। १२ बुँदे संयुक्त वक्तव्यमा समेत यस विषयमा कुनै उल्लेख गरिएको छैन। 

भारत सरकारले ५०० र १००० दरका भारु नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेको ठूला भारु 'खोस्टो' बराबर भएका थिए।

राष्ट्र बैंकले प्रणालीभित्र र बाहिरका नोट साट्न भारतीय दूतावास, रिजर्भ बैंक अफ इण्डिया (आरबिआइ) सँग पटक पटक कुराकानी गरेको थियो। तर उनीहरुले आश्वासन मात्र दिने गरेका थिए।

भारतीय सीमावर्ती क्षेत्रमा नेपालका बैंकहरुको पनि खाता भारतीय बैंकहरुसँग छ। खासगरी रक्सौल र जोगबनीमा रहेका भारतीय बैंकहरुसँग नेपालका बैंकहरुको खाता छ। उनीहरु सबै राष्ट्र बैंकको भर परे र नोट साट्न सकेनन्।

औपचारिक तथ्याङ्कमा नेपाली बैंकहरुको दुई करोड ७४ लाख रुपैयाँ साटिन बाँकी भनिएको छ। तर गाउँगाउँमा भएका भारुसहित जोड्ने हो भने यो संख्या ९ अर्बमा पुग्ने रोयटर्सले अनुमान गरेको छ। 

नेपालमा रहेको नोट साट्न आनाकानी गरे पनि भारतले भुटानमा रहेको १२० करोड बराबरको भारतीय नोट गत वर्षको मे महिनामा साटेको थियो।

रेल र जलमार्ग दिन्छु भन्ने भारतले हवाई मार्ग दिएन

दुई प्रधानमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्तिमा रेलमार्ग र जलमार्गको कुरा छ, तर नेपालले लामो समयदेखि उठाउँदै आएको हवाई मार्गको विषयमा भने केही उल्लेख छैन। 

त्यस्तै प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा नेपाल प्रवेश गर्ने हवाई विन्दुको विषयमा समेत कुरा उठाउने संसदमा बताएका थिए। यस विषयमा समेत औपचारिक रुपमा छलफल भएन। 

हाल नेपाल प्रवेश गर्ने हवाईविन्दु सिमरा मात्र छ। पछिल्लो समय नेपालमा थप अन्तर्राष्ट्रिय  विमानस्थल बन्दै गर्दा नेपाल प्रवेशका लागि थप हवाई विन्दु आवश्यक छ। 

‘भारत भ्रमणका क्रममा थप हवाई विन्दु प्रदान गर्ने विषयमा भारतीय पक्षसँग छलफल गर्नेछु,’ प्रधानमन्त्री ओलीले संसद बैठकमा भनेका थिए। 
तर भ्रमणका क्रममा यस विषयमा ठोस सहमति भएन। १२ बुँदे वक्तव्यमा समेत यसले स्थान पाएको छैन। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढ्दै गएको छ। यो विमानस्थल सञ्चालनमा आउँदा थप हवाई बिन्दु आवश्यक पर्छ। 

यसअघि नेपालले पटक-पटक हवाई विन्दु उपलब्ध गराउन भारतीय पक्षसँग छलफल गर्दै आएको छ। तर भारतले भैरहवामाथि हवाई बिन्दू उपलब्ध गराउन अस्वीकार गर्दै आएको छ।

नेपाली ग्यास बुलेट अझै अलपत्र

प्रधानमन्त्री ओलीले भारतमा आफूले उठाउने विषय संसदमा सुनाउने क्रममा नेपाली ग्यास बुलेट चलाउने विषयमा पनि कुरा राख्ने बताएका थिए। यो विषयमा पनि कुनै सहमति हुन सकेन। 

नेपाल आयल निगमले ग्यास बोक्ने भारतीय बुलेटलाई विस्थापित गर्दै नेपाली बुलेट राख्न टेन्डर आह्वान गरेको छ। अहिले ग्यास बोक्ने सबै बुलेट भारतीय छन्।

भारतीय ढुवानीकर्ता हुँदा नेपाललाई प्राथमिकतामा नराख्ने र ढुवानी भाडाका लागि वार्षिक चार अर्ब विदेशिने भन्दै नेपाल आयल निगमले तीन वर्षअघि नै नेपाली बुलेट राख्न टेन्डर आह्वान गरेको थियो। तर भारतले नेपाली नम्बर प्लेटका ग्यास बुलेट चलाउन अनुमति दिएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell