काठमाडौं : सतुंगल फिट्नेस फस्टका रुपक लगुनले चौथो इन्ट्रा मिस्टर फिट्नेस फस्ट च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन्।
फिट्नेस फस्टद्वारा आयोजित प्रतियोगिताको ओभरअलमा च्याम्पियन बनेका रुपकले ७० केजीमुनि पहिलो भएका सतुंगलकै अमर गमाल र ६० केजीमा पहिलो भएका थानकोटका किस्मान तामाङलाई फाइनल चरणमा पराजित गरे।
रुपक ७० केजीमाथि पहिलो हुँदै फाइनल राउण्डमा प्रवेश गरेका थिए। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३५ हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त पारे। शीर्ष तीनले प्रोटिन र मोबाइल पनि पाए।
पुरुष फिजिक १६५ सेन्टीमिटर उचाईंमुनि सतंगुलका राजेश तामाङ र १६५ सेन्टीमिटर उचाईंमाथि थानकोटका गोकुल श्रेष्ठ पहिलो भए। दुवैले ५–५ हजार नगद पुरस्कार पाए।
शारीरिक सुगठनतर्फ सतुंगलका उत्कृष्ट पोजर बनेका सूर्य थापाले नगद ५ हजार रुपैयाँ हात पारे। एकदिने प्रतियोगितामा ३४ खेलाडी सहभागी थिए।